मनाङ । लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ ।
बाढीपहिराले पदमार्गमा क्षति पुर्याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उहाँले बताउनुभयो ।
प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासङ्घलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पुर्याएको पाइएको उहाँले बताउनुभयो ।
“पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ । अब पर्यटक भित्र्याउन हामी तयार छौँ”, उहाँले भन्नुभयो, “जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।
पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मि) जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताउनुभयो ।
पदमार्गअन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भिर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो ।
“भ्राताङ भिरमा पैदल हिँड्न मुस्किल छैन । सवारीसाधन चलाउन सकिएको छैन । तर, माथिल्लो मनाङको सडकमा खासै समस्या छैन । अब हामी पर्यटक भित्र्याउन सक्नेछौँ र तयारी पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।