-विकास पौडेल
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तक्रिया गर्नुभएको छ । कार्यक्रमको सुरुमा नै ओलीले ताजा जनादेशमा जान खोज्दा पनि प्रतिगमन भयो भनेर अर्थाइएकोमा सम्पादकहरुलाई के मन्त्रिपरिषद विस्तार नगर्नु अग्रगमन हो ? भन्दै प्रश्न तेस्र्याउनुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश मनपरी रुपमा ल्याउने र खारेज गर्ने गरेको बताउदै, उहाँले जरुरी परेको बेला अध्यादेश ल्याउन पाइने तर अध्यादेशलाई खारेज गर्न अर्को कानून बनाउनुपर्ने व्यवस्था भएको स्मरण गराउनुभयो । अन्तक्रिया कार्यक्रममा संसद विघटनको इतिहास , राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर तीतो इतिहास बटुलेका पूर्व प्रधानमन्त्रीलाई सम्पादकहरुले पनि पेचिलो प्रश्न सोधेका छन् ।
कार्यक्रममा ओलीलाइ पहिलो प्रश्न थियो शिलापत्र डटकमका सम्पादक बसन्त बस्नेतको । उनले प्रधानमन्त्रीबाट ओली बाहिरिएको अर्को दिन पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई पत्रपत्रिकामा तिमी नै सम्बोधन भएको दृष्टान्त बताए ।
बस्नेतले पुरानो गीत ,आमैले भन्थिन नि....ओलीलाई स्मरण गराए । जवाफमा ओलीले,ईश्वर तैले रचेर ...गीतमा भगवानलाई नि तँ भनेको दृष्टान्त उल्टै बस्नेतलाई सुनाए । ओलीले गीत संगीतका शब्द र साहित्यमा तिमी शब्दको प्रयोग गरिने भएपनि समाचारमा भाषिक मर्यादा ख्याल गर्नुपर्ने आफ्नो आशय भएको बताएका थिए ।
सम्पादक बस्नेतले अदालतबाट गलत निर्णय भएको बताउने ओली बारम्बार अदालत नै गुहार्दै जाने व्यवहारप्रति पनि प्रश्न उठाए । त्यसको जवाफमा ओलीले अदालतको निर्णय मान्नुपर्छ र निर्णय मन नपरे विरोध गर्न पाइन्छ, मर्यादाभाव कम नहोस भन्ने हेतुले असहमतिका बाबजुद मान्नुपरेको बाध्यता सुनाए । विगतको अदालतको फैसला ऐतिहासिक रुपमा गलत भएको र इतिहासले त्यसको मुल्याकंन गर्ने दाबी गर्दै ओलीले ,अदालतमाथि नै विरोध गर्दा जनतामा लोकतान्त्रिक मूल्यमान्यता घट्दै जाने समेत जिकीर गरे ।
त्यस्तै बस्नेतले राजनीतिक प्रस्तावमा ओलीले एमसीसी, बिआरआई र पारवाहनका बारेमा केही छोएपनि स्पष्ट नखुलेको भन्दै जिज्ञासा राखे । त्यसमा ओलीको प्रतिउत्तर थियो , ‘एमसिसी सम्झौता हुदाँ र कार्यन्वयन गर्ने बेला पनि हामी प्रतिपक्षमा पुगेका छौँ । अहिले प्रधानमन्त्री र किङ मेकर प्रचण्ड, जसले सम्झौता गरेको हो ,उनीहरुकै नीति तथा कार्यक्रममा समेत त्यो उल्लेख नहुदाँ अहिलेलाई उनीहरुलाई सम्झाईदिएको ओलीको तर्क थियो । १६५ सदस्यको साथ भएको गठबन्धन नबोल्दा अल्पमतका आफूहरु मात्र बोल्नुभन्दा ,गठबन्धन नै बोलोस भन्ने आफ्नो विचार भएको ओलीले स्पष्ट पारे । उनले थप अगाडि बढेर भने , ‘ताप्के भन्दा बिड तातेर के गर्ने हामी ? अझ गठबन्धनलाई सम्झाइदिन फातिमा सुमार आउनुपरेको भन्दै समेत ओलीले व्यङ्ग्य कसे ।
सम्पादकहरुको तर्फबाट अर्को प्रश्न थियो–ओलीले आत्मालोचना शब्दको प्रयोग कहिले गर्ने ? त्यसको उत्तरमा ओलीले पत्रकार र आफूहरु सबै लोकतन्त्रलाई सुदृढ पारेर नै जान चाहेकाले,विगतका खटपटलाई बिर्सेर जान सम्पादकहरुसँग आग्रह गरे ।
राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएका ओलीलाई सम्पादकहरुले आइजिपी लाएर सांसदलाई उठबस पारेको विगतको इतिहास सम्झाउदैँ उनले गलत नै भएपनि शेरबहादुर देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशको विरोध गर्न नैतिकता गुमाएको जिकिर गरेका थिए । माधवजीहरुले पार्टी फुटाएर जान चाहेको भए आफैंले अध्यादेश ल्याइदिने तर्क गरेका ओलीले सम्पादकहरुलाई बोलाएर अध्यादेशको बारेमा पढाउनु उपयुक्त नभएको उनीहरुको भनाइ थियो । कि गल्ति भएको हो भन्नुपर्यो होइन भने जिस्केको कुरालाई साँच्चिकै लिएको भन्नुपर्ने सम्पादकहरुको भनाइ थियो ।
त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले घरमा पटका पट्काउदाँ छिमेकी तर्सनुलाई केही गर्न नसकिने बताउदै दल त्याग्न पाउने संसदहरुको संवैधानिक हक भएपनि त्यसलाई आफुअनुकुल प्रयोग गर्न नहुने बताए । केहि सानो समूह लिएर दल विभाजित गर्ने अभ्यासले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै राखिएको ४० प्रतिशतको प्रावधानलाई परिवर्तन गरेर कति राखे कुन पार्टीलाई सहज हुन्छ भन्दै खोज्दै हिड्नु गलत भएको अध्यक्ष ओलीको तर्क थियो । रातमा संसद अधिवेशन अन्त्य गरेर एकाविहानै अध्यादेश ल्याइनु कपटपूर्ण भएको उनको तर्क थियो ।
प्रधानमन्त्रीसँगै थिए ,एमाले युवा नेता योगेश भट्टराई । उनलाई लक्षित गर्दै सम्पादकहरुबाट प्रश्न आयो : १५ बर्ष कम्युनिष्टको सरकारभन्दा अरु सरकार बन्दैन भनेकामा किन तीन वर्षमा नै सरकार फेरियो ? आफैले विघटन गरेको संसदमा सांसदहरुलाई कारबाही भनेर विरोध भैरहेकोप्रति पनि सम्पादकहरुले प्रश्न उठाए । । सम्पादकहरुले नेताहरुले प्रयोग गरेक भाषाशैलीलाई पत्रिकामा उतार्न गाह्रो हुने गरेको समेत गुनासो राखेका थिए । ओलीले माधव नेपाल लगायतका नेताहरुलाई कहिले कारबाही गरेको , त्यसपछि फुकुवा गरेर फेरि कारबाही गरेको , फेरि माफी दिएको दृष्टान्त सम्झाउदैँ कुन चाहिँ अन्तिम निर्णय हो ? भनेर यकिन गर्न गाह्रो भएको सम्पादकहरुको भनाइ थियो ।
त्यसको प्रतिउत्तरमा ओलीले , कारबाही र माफीको विषयमा पार्टीभित्र जेसुकै भएपनि सभामुखलाई आधिकारिक रुपमा कारबाहीको सूचना दिएपछि त्यसलाई रोक्ने कुनै विषेशाधिकार नभएको स्पष्ट पारे ।
त्यस्तै सभामुखको कार्यसम्पादनलाई लिएर विवाद उठ्नुले लोकतन्त्रलाई कमजोर पार्दै गैरहेको बताउदै सम्पादकहरुले त्यस पदमा बसिसकेका सुवास नेम्वाङ र अग्नि खरेलले त्यो पदको गरिमा बचाउन , सम्वाद चाल्नु उपयुक्क्त हुने सुझाव राखे ।
सम्पादकहरुबाट लामै सवालजवाफ आउने छाटकाँट बुझेका ओलीले सम्पादकहरुलाई रोक्दै ठट्यौली पारामा, एकलौटि रुपमा आफूले बोलेर कार्यक्रम अन्त्य गर्दा इन्टरटेन नहुने र धित नमर्न सक्ने भन्दै प्रश्नहरुको उत्तर दिदै कार्यक्रम अगाडि बढाएका थिए ।
सम्पादकहरुले अध्यक्ष ओली प्रधानमन्त्रीमा छँदा गुप्तचर लगायतका केही निकायलाई आफूमातहत ल्याउन खोज्नुले शक्तिको भोक दर्शाएको जिकिर गरेका थिए । त्यसको प्रतिउत्तरमा उनले अहिले रक्षादेखि गृह मन्त्रालय र सबै मन्त्रालय आफूसँगै राखेका प्रधानमन्त्री झन शक्तिशाली भएको बताए । सुधारका लागि कुनै संस्थाको निर्देशक जस्तो मान्छे मात्रलाई पनि आफूसँग ल्याउदाँ प्रश्न उठेकोमा दुख समेत व्यक्त गरे । व्यक्तिहरुले आफ्नो कार्यकालमा बोल्न पनि नदिने भन्दै अर्थाउनु गलत भएको बताउदैँ ओलीले त्यसबेला पत्रकारहरुले गरेको शब्द कारबाहीको डाम अझसम्म पनि आफूसँग भएको बताए ।
अध्यक्ष ओलीलाई एमालेको विधानमा ७० वर्षे उमेरहदको प्रावधान भएको र दोहोराएर कक्षा नपढ्ने आफ्नै विगतको घोषणा सम्पादकहरुले स्मरण गराए । सम्पादकहरुको प्रश्न थियो– दशौँ महाधिवेशनमा तपाई अध्यक्षमा उम्मेदवार बन्नुहुन्छ कि हुन्न ? प्रतिउत्तरमा ओलीले महाविद्यावारिधी भन्दा माथि कक्षा नभएको र अध्यक्ष भन्दा माथि पद नभएको बताए ।
त्यस्तै सम्पादकहरुले अध्यक्ष ओलीलाई आफैले वकालत गरेको बहुपदको प्रावधानलाई कुल्चिदैँ स्टालिन शैलीमा चल्न खोजेको आरोप लगाए । सम्पादकहरुको प्रश्न थियो , ‘एमाले एकमानावादी होकि द्धन्दात्मक भौतिकवादी ?
यस्तै नेकपा एमालेले अगिंकार गरेको जनताको बहुदलीय जनवादको बारेमा समेत आजभोलि प्रश्न उठ्न थालेकामा सम्पादकहरुले जिज्ञासा राखेका थिए । ‘ जबज कुनै जड सिद्धान्त होइन र कुनै समयमा विकसित गर्दाको मात्र सिद्धान्त पनि होइन,यो पछिसम्मको मार्गनिर्देशन हो, ओलीले सम्पादकहरुलाई बताए । ‘एउटा रेल १०० किलोमिटरको लिग भए पनि १००० किलोमिटरको लिग भए पनि त्यति नै गुड्छ । जबज पनि त्यस्तै भएको ओलीको तर्क थियो । ‘यो लोकतान्त्रिक राजनीतिक संस्कारलाई स्थापित गर्न मात्र नभई आर्थिक , सांस्कृतिक लगायत जैविक र मानवीय आवश्यकता पूरा गर्न तयार गरिएको सिद्धान्त हो । यो परिपूर्ण लोकतन्त्र समेत भएको बताउदै उनले लोकतन्त्रलाई फेरि पूर्ण भनेर विशेषण थप्नु पर्ने नपर्नेमा आजभोलि विवाद आउने गरेको उनको भनाइ थियो । विपी कोइरालाले गरे
।
सम्पादकहरुले पछिल्लो राजनीति विकृत हुनुको जिम्मा ओलीले पनि लिनुपर्ने बताए । ओलीले आफूले गरेको गल्तिको जिम्मा लिन तयार भएपनि सबैको जिम्मा नलिने प्रष्ट पारे । गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुलाई समेत आफ्नै पार्टीबाट राजिनामा दिन बाध्य पार्ने पात्र पार्टीभित्र हुदाँसम्म राजनीति विकृत हुने उनको तर्क थियो । ५१ बर्षसम्म मिलाएर जानै खोजेकोमा अहिले अनुचित बोलवालाको विकृत बढेपछि पार्टीभित्र विकृति छाएको उनको आरोप थियो ।
सम्पादकहरुले ओली स्वयंले पार्टी एकीकरणका बेला दुई पाइलटले जेटलाई उडाउने बताएको सम्झाउदैँ ओलीले त्यसलाई अवतरण गर्न नसकेको जिकीर गरेका थिए । ‘जेट त दुइटैले चलाउनु ठीक हो तर पार्टी होइन रहेछ । अब चुनाव पछि स्पष्ट बहुमतका साथ एकल पाइलटले सुपरफास्ट जेट चलाइन्छ ।
सम्पादकहरुको अर्को पश्न थियो–शेरबहादुर देउवासँग मिलेर फेरिपनि ताजा जनादेशमा जाने सम्भावना कतिको छ ? जवाफमा अध्यक्ष ओलीले ताजा जनादेशमा जानु आवश्यक भैसकेको बताउदैँ त्यसका लागि आफ्नो आवश्यकता गठबन्धन सरकारलाई नरहेको धारणा राखे ।