भगीरथ भण्डारी
इलाम । दशैं, तिहार, छट लगायतका पर्व नजिकिँदै गएपछि इलाम बजारमा उपभोग्य सामानको मूल्य आकासिएकाे छ। बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मूल्य महंगीन थालेको हो ।
पहिले बजारको नियमित रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ । अहिले बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ ।
जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको रुपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रुपमा बजार अनुगमन भएको छैन । नियमित रुपमा बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम बढेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनको लागि समन्वय गर्न पत्रचार गरेकाले चाँडै अनुगमन शुरु हुने बताएका छन् । ‘प्रजिअ खड्काका अनुसार हामी चाँडै इलामका बजारको अनुगमन शुरु गर्छौ, ‘उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौ ।’ उपभोक्ता हक हित संरक्षण ऐन विपरित गर्नेलाई ठाउँको ठाउँ कारवाही उहाँले बताउनुभयाे ।
जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा बिक्री गर्ने बस्तुको लेवल र मूल्य, मूल्य सूची, नियमनकारी निकायमा हुने पर्ने दर्ता नविकरण, पान भ्याट दर्ता, भण्डारण लगायतका विषयमा अनुगमन गर्ने छ ।
यता बढी सवारी भाडा असुलेको विषयमा जनगुनासो आएपनि चेकजाँचको क्रममा भने यात्रु नै तिरेको भाडा भन्नै नचाहने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ्ग बताउनु हुन्छ।
‘प्रहरीले चेकजाँच गर्दा यात्रुुले तिरेको भाडा रकम खुलाउँदैनन्, त्यसैले हामीलाई कारवाही गर्न समस्या छ ।’ बढी भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कारवाही गर्छौ ।’ उहाँले भन्नुभयाे ।
पछिल्लो साता मात्रै यात्रुसँग बढी भाडा असुल्ने सातवटा सवारी कारवाहीमा परेको उहाँले जानकारी दिनुभयाे ।