काठमाडाैं । देशको विकासका लागि सरकार जति जिम्मेवार हुन्छ । त्यति नै देशका जनता पनि जिम्मेवार हुनु पर्दछ । राणाकालमा केही राणाहरुले आफ्नो ब्यक्तिगत सुखसुविधाले देश विकास भएन भनेर राणाहरुलाई गाली गर्न थाल्यौं। राणा गए देश बन्छ भन्दै क्रान्तिमा होमिएर २००७ सालमा जनताको सरकार आयो भन्दै हामी कुर्लियौं । तर त्यसपछिका एक दशकको इतिहासलाई राम्ररी नियाल्यौं भने झन् दु:खद् दशकको रुपमा देख्छौं ।
स्वार्थले भरिएका नेता त्यही बेला जन्मिएका थिए भने कार्यकर्ता पनि आफ्नो दुनो सोझ्याउने खालका नै बने । चुनाव हुनु अगावै च्याउ सरि राजनैतिक दलहरु जन्मिए । दाइ भाइमा पनि एक साथ रहन सकेन । दाइले भाइलाई विश्वास गरेन । सात सालपछि बलियो पार्टीको रुपमा उभिएको कांग्रेसप्रति पनि गाँउघरमा यति वितृष्णा जन्मियो कि छिमेकीको झगडामा पनि गाली गर्ने शब्दको रुपमा एउटा नयाँ शब्द जन्मियो, "तेरो घरमा कांग्रेस पसोस्" ।
पञ्चायतकालमा पनि राजा महेन्द्रको देश विकासको उद्देश्यमा केही पञ्चहरु ब्यक्तिगत स्वार्थमा लागे । पञ्चे चोर देश छोडका नाराहरु गुञ्जिन थाले । राजा वीरेन्द्रले २०३६ सालमा जनतालाई बहुदल कि निर्दल भनेर सोधे । तर जनताले अझै पञ्चायती ब्यवस्था नै रोजे । राजाले दलहरुलाई केही सहजता बनाइदिए ।
४६ सालमा त दलीय राजनीति शुरु भयो । त्यसपछि भाडभैलो पनि शुरु भयो । देशका प्रमुख उद्योगहरु निजिकरणका नाममा बेचिए । रोजगारीका अवसरहरु गुम्दै गए । देशको युवाहरुको श्रम बिदेशी भूमीका लागि बिक्रि भयो । युवाका अमृत जस्तो पसिना विदेशी भूमिमा सिंचित भयो । देशमा डलर, पाउण्ड, येन, रियालहरु भित्रिए । बिकसित मुलुकमा पुगेका नेपालीको पसिना मात्र होइन शरीर नै विदेशमा निलाम भए । पिआर, ग्रिनकार्ड र आइडीको लोभमा नेपाली विदेशी भए । बाबु आमा गर्वित भए तर नेपाल आमा रोए ।
अहिले देश रेमिट्यान्सले चलेको छ । तर ति देश चलाउन रेमिट्यान्स पठाउने भने गरिब बाबुआमाका गरिब छोराछोरी हुन् जो साउदीको मरुभूमिमा र मलेशियाका जंगलमा पसिना बगाउछन् । अमेरिका र यूरोप पुग्ने ति धनी बाबुआमाका छोराछोरीले देशमा खासै पैसा पठाउँदैनन् । देशको माया गर्दैनन् । कुन बेला पिआर अथवा ग्रिनकार्ड पाइन्छ भन्दै वकिलका पछि भागिरहेका हुन्छन् । देशको नाममा ठूला ठूला गफ त दिन्छन् तर कुनै अर्थतन्त्रलाई टेवा दिदैनन् । यि जमातले बाबुआमाको लागि पनि खासै केही गर्दैनन् । बरु बेबीकेयरका लागि भने बाबु आमा खुब सम्झन्छन र घुमाउने नाममा बच्चा हेरिदिन बोलाउँछन् ।
देशको लागि केही गर्नै पर्छ भन्दै स्वदेशको माया गर्ने पनि यहाँ कमी छैन । सामाजिक काम गर्दै स्वदेशमा रमाउनेको जमात पनि ठूलै छ । पश्चिम नेपालमा दलवीर सिंह कामीले आफ्नै पौरुषले थुप्रै झोलुङ्गे पुल बनाए । लिम्बुनी बोजुले आफ्नै निजी पैसा खर्च गरेर लिम्बुनी पुल बनाए । दोलखाका प्रयागराज पण्डितले झोलुङ्गे पुल मात्र बनाएनन् । पुलको टिकाउको लागी फलामका साङलामा तेल दल्नको लागि नै जग्गा पनि दान गरेर गुठी बनाए ।
त्यस्तै पूर्वमा सिटौला पुल भन्ने पनि छ । इतिहास नभेटिए पनि कुनै सिटौला थर भएकाले बनाइदिएको झोलुङ्गे पुल । यस्तै खोज्दै जाने हो भने गाउँलेको लागि यस किसिमको पुल बनाइदिने धेरै भेटिन्छ । तर यहाँ चर्चा गर्न गइरहेको छु - काजीमान पुलको ।
देशमा जङ्गबहादुरको वंश विनाशपछि धिरसमशेरका सत्र भाइ छोराको राज चलेको थियो । वीरसमशेर प्रधानमन्त्री तथा श्री ३ बनेका थिए । विकासको सुरुवातको रुपमा वीर अस्पताल, वीर टावर (घण्टाघर), काठमाडौ भक्तपुरमा खानेपानीको लागि कलधाराको सुरुवात गरेका थिए । वीरधारा नाम गरिएका यि धाराहरु विभिन्न स्थानमा बनाउन लगाएका थिए । यही समय पूर्वी नेपालको पाँचथर जिल्लाको च्याङथापुको फलैचा भन्ने ठाउँमा बि.सं. १९४८ मंसिर १५ गतेको दिन काजीमान लिम्बुको जन्म भएको थियो । सम्पन्न बेघा परिवारमा जन्मिएका काजीमान गाउँका जिम्वाल सुब्बा थिए ।
च्याङथापुको इतिहास कोट्याउने हो भने कुनै बेला लिम्बु राजाको दरवार रहेको ठाउँ थियो । नाम्रेकमा याङवरकका राजा हिल्लिहाङको दरवार थियो । यिनै हिल्लिहाङका छोरी थुङवामुक्माको विवाह सिक्किमका राजा तेन्सु नामग्यालसँग भएको थियो । पछि नाम्रेकबाट याङवरकमा राजधानी सारे पछि पूर्वको शक्तिशाली राज्य बन्न पुगेको थियो । बि.सं. १८३० मा पृथ्वीनारायण शाहका कमाण्डर रामकृष्ण कुँवर तथा अभिमानसिंह बस्न्यात लिम्बुवान राज्य विजय अभियानमा आउँदा निकै लामो समय लडाइ भएको थियो । कुनै बेला युद्धस्थल रहेको याङवरकमा अहिले पनि ऐतिहासिक स्थल तथा चिनोहरु भेटिन्छ ।
यही ऐतिहासिक थलो याङवरक गोरखा राज्यमा विलय भएपछि काजीमान बेघा सुब्बा भएका थिए । बि.सं. १९७० मा काजीमानको छिमेकी गाउँ ताप्लेजुङ जिल्लाको थेचम्बुका फुङमा मेयाङ्बोसँग विवाह भएको थियो । सामाजिक काममा तल्लिन रहने काजीमानको अधिकांश समय गाउँको हितको लागि नै रहने गर्थ्याे ।
उनले राणाकालमा नै बि.सं. १९९५ सालमा भारतीय शहर दार्जिलिङ नजिकै रहेको विजनवारीबाट फलामे लट्ठाहरु ल्याएर च्याङथापुको मेवा भुरुङवा खोला दोभानमा झोलुङ्गे पुल बनाइदिएका थिए । निकै वर्षसम्म यो पुलले गाउँलेहरुलाई निकै राहत दिएको थियो । २०१६ सालमा मेवा खोलामा आएको बाढीले सो पुल भत्काइदियो ।
२०१७ सालमा मेवा भुरुङ्वा दोभानमा भत्काएको पुलको सामग्री लगेर ताप्लेजुङको पुछारमा चाक्सीबोटेको काबेली खोलामा झोलुङ्गे पुल निर्माण गरेको थियो । जुन पुल अध्याबधिक रहेको छ । समाजसेवामा लागि रहने काजीमानले त्यसपछि फलैचामा नै रहेको गढी भन्ज्याङमा धर्मशाला बनाइदिएका थिए । २०२९ सालमा चिवाभन्ज्याङमा पनि धर्मशाला बनाइदिएका थिए । चिवाभन्ज्याङ नेपालको सिक्किमसँग जोडिएको पूर्वी नाका हो ।
जीवनको उत्तरार्ध तिर बिसं २०३३ सालमा ८५ वर्षको उमेरमा नेपालको एक धार्मिक स्थल तथा पूर्वको गोसाइँकुण्डको रुपमा प्रख्यात तिम्बु पोखरीमा ठूलो घण्ट चढाएका थिए । यो घण्ट भने बेतेनीका सुब्बा कृपानन्द माङ्मोसँग मिलेर चढाएका थिए ।
यस्तै, राणाकालमा बेघा लिम्बुहरु पलायन भएर भारतको सिक्किम, आसाम, मणीपुर, भुटान गइ बेघाहरुको संख्या ह्वाट्टै घट्न जाँदा समस्या पर्न गएको हुँदा गैर बेघाहरुलाई आमन्त्रण गरी आफ्नो कुलमा भित्राइ बेघा थर उपलब्ध गराइ सामाजिक सहिष्णुता कायम गराएका थिए । यसरी बेघाहरु बिलुप्त हुनबाट जोगाएका थिए । अहिले सबै बेघाहरु एक भएर रहेका छन् ।
यसरी जीवनभर समाजको लागि केही न केही गर्दै ९२ वर्षको उमेरमा बिसं २०३९ साउन १५ गते उहाँको देहान्त भएको थियो ।
तस्बिर तथा शब्द सुनिल उलककाे फेसबुकबाट साभार