प्रेम यादव
रौतहट । सुरक्षित आवासका लागि छनोट भएका गरिब विपन्नहरुको रकममा समेत झेल भएको भन्दै रौतहटमा पीडितहरुले स्थानीय तह घेराउ गरेका छन् । उनीहरूले रकम वितरण भएको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रवार आवास निर्माण संघर्ष समिति, रौतहटका स्थानीय ईकाईहरुले जिल्लाको फतुवा विजयपुर नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, माधव नारायण नगरपालिका, बौधीमाई नगरपालिका, परोहा नगरपालिकालगायतका स्थानीय तह घेराउ गर्नुको साथै ज्ञापन पत्र समेत बुझाएका छन् ।
विपन्न गरिब दलितहरूका लागि संवैधानिक मौलिक हकको रुपमा रहेको आवासको हक कार्यान्वयन हुन नसकेकोमा उनीहरुले आक्रोश समेत पोखेका छन् ।
प्रदर्शनकारीले जिल्लाको सबै स्थानीय तहमा कुन कुन आर्थिक वर्षमा कुन वडाको को को व्यक्तिको घर छनोट भएको, कति रकम भुक्तानि भएकोलगायतका सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन ध्यानाकर्षण समेत गराएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममा भइरहेको चरम भ्रष्टाचार, अनियमितता एवं हरेक खाले लापरवाहीको छानवीन गरी विशेष चासोका साथ आवास निर्माणको कार्य अगाडि बढाउन लागि माग गरेका हुन् ।
ज्ञापनपत्र बुझाउदै उनीहरुले नगरपालिकाको हरेक क्षेत्र तथा कार्यक्रममा गरिबी निवारणका यथेष्ठ बजेटको व्यवस्था हुनुपर्ने, सुरक्षित आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही हुनुपर्ने, कमिसनका लागि भुक्तानी रोक्नेलाई कारवाही गर्ने, दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन्