रात साँच्चिकै यतिको सुनसान हुन्छ भनेर मैले त बिर्सिसकेछु । पछिल्लो पाँच वर्षको मेरो व्यस्तताले दिन मात्र होइन, रातको स्वरूपसमेत मैले बिर्सिसकेको रहेछु । बल्ल आज हेक्का हुँदै छ ।
बिहानै उठ, कलेजमा पढाउन जाउ । घर फर्क । हतार–हतार एक गाँस खाना खाउ । अनि, घाँटीमै खाना बोकेर अफिसका लागि कुद । दिनभरि अफिस, कहिले मिटिङ, कहिले के–के !
जहिल्यै छिटो घर फर्कन्छु भन्दा पनि रातको ९–१० त बजिहाल्ने । दिनभरिको दौडधुप र तनावले थाकेको ज्यान र मस्तिष्क न पर्यो, पेटमा तातो खाना पर्नेबित्तिकै आँखा लोलाइहाल्छ ।
तर, यसपटक यस्तो नीरस दैनिकीबाट केही दिनका लागि भए पनि छुटकारा पाइयो । राजधानीमा मेलम्चीको पानी वितरण गर्ने निहुँमा जताततै भताभुंग सडक खनेर बेरूपको बनेको धुलोमाडौंको बबुरो न परेँ ।
ठ्याक्कै समाति त हाल्यो । सुक्खा रुघासँगै हनहन्ती ज्वरो नै आयो । यसै निहुँमा यसपटक घरमा आराम गर्ने मेलो जुर्यो । छुट्टी पाउन पनि बिरामी नै पर्नुपर्ने ! यो कस्तो दैनिकी बिताउँदै छु म, आफैँलाई थाहा छैन ।
औषधिले लठ्याएर हो कि दिनभरि खुब सुतियो । अझ भनौँ, पाँच वर्षको क्षतिपूर्ति पुग्ने गरी सुतियो ! एकैपटक बेलुकी ९–१० बजेतिर ब्युँझिएँ । ज्यान हलुंगो भएको महसुस गरेँ । घरका सबैजना सुत्ने मेलोमा लागिसकेका थिए ।
दिनभरि सुतेर बल्ल ब्युँतिएको मलाई पो आपत् पर्यो । सिंगै रात बाँकी थियो । तर, आँखामा फिटिक्कै निन्द्रा आए पो ।
उकुसमुकुस भएर सिरकभित्र गुटमुटिएर बस्नुभन्दा केही लेख्छु भन्ने मनमनै निधो गरेँ । अनि। ल्यापटाप अन गरेर केही लेख्नलाई गम्न थालेँ । गम्दै एउटा कथा लेख्ने निष्कर्षमा पुगेँ । तर, धेरै बेर गमेँ, फटिक्कै जुरेन । कस्तो कथा लेख्ने भन्ने प्लट पनि फुरेन ।
छेउमै रहेको ओछ्यानमा छोरोलाई अँगालोमा च्यापेर श्रीमती मस्त निदाइसकेकी थिइन् । दिनभरि स्पोर्ट्स च्यानलमा डब्लूडब्लूएफमा रेस्लिङ हेर्दै मसँग भिड्ने र मैले गीभअप भनिदिँदा जितको उन्मादमा मक्ख पर्ने तीन वर्षको छोरो पनि सायद थाकेर होला निदाइसकेको थियो । तर, निन्द्रामै भए पनि आमाको दूध चुसेको आवाज रातको त्यो नीरवतामा बेग्लै संगीतको लयभन्दा कम्ता सुनिँदैनथ्यो ।
चैतको अन्तिम समय । कोठामा बढेको तापक्रमले उखरमाउलो गृष्म ऋतु समीपमै छ भन्ने झल्को दिइरहेको थियो । त्यसैले मैले एउटा झ्याल खोलेँ । नभन्दै सिरर्र गर्दै वासन्ती हावा मलाई स्पर्श गर्दै कोठाभित्र छिर्यो ।
बस्तीमा कुनै घर वा सडकमा केही कुकुरहरू भुकिरहेका थिए । बेलाबखत गाडी कुदेको आवाज पनि कानमा ठोक्किन आउँथ्यो । आजको रात मलाई खै किन हो साँच्चिकै नौलो लाग्यो । अनि, रोमान्टिक पनि ।
मेरो मोबाइलमा ७०/८० को दशकका हिन्दी गीतहरू बजिरहेको थियो । सानो आवाजमा बजिरहेका ती गीतहरू साँच्चिकै सदाबहार थिए । जहिले सुने पनि उस्तै ताजा र नयाँजस्तै लाग्ने ! सुमधुर ।
गोरी तेरा गाउँ बडा प्यारा...
कभी कभी मेरे दिलमे...
तु इस तरह मुझे...
०००
मेरो एकाग्रता भंग हुने गरी कोही सुँक्क सुँक्क रोएको आवाज आयो । मैले कान थापेर आवाज ठम्याउन खोजेँ । रूने आवाज केटी मान्छेको थियो । सँगै कुनै केटा मान्छेले केही भनेको आवाज पनि सुनिन्थ्यो । मैले घडी हेरेँ, साढे एघार बजिसकेको रहेछ ।
यति राति केको रुवाबासी चल्दैछ ? अनि, कारण के होला ?
लेखक मनलाई हुटहुटी चलिहाल्यो ।
फेरि, एक छिन कान थापेर सुनेँ । पल्लो घरमा बस्ने साम्देन र उसको दुलही म्हारमेनको आवाज हो भन्ने निर्क्योलमा पुगेँ म ।
तीन महिनाअघि मात्र विवाह गरेका यी जोडीलाई आज के परेछ ? भन्ने सोचेर म बाहिर बरन्डामा निस्किएँ । नभन्दै साम्देन र उसकी दुलही म्हारमेन कौसीमा रहेछन् । औँसीको रात रहेछ क्यार बाहिर निख्खर अन्धकार थियो ।
‘नरोऊ न यसरी । म पनि कहाँ रहरले जान लागेको हो र ? फेरि, तीन–चार वर्ष त हो नि ।’ साम्देन सम्झाउँदै थियो । तर, म्हारमेनको रुवाइ थाम्ने पारामा थिएन ।
‘भोलि नगए नि पर्सि त जानैपर्छ । पर्सि नभए कुनै दिन नै सही । हामीजस्ता बेरोजगारले त्यता नगई नहुने जमाना हो यो । तिमी किन बुझ्दिनौ !’
साम्देन म्हारमेनलाई सम्झाउँदै थियो ।
बल्ल मैले मेसो पाएँ । साम्देन भोलि कुनै खाडी मुलुकका लागि उड्ने तयारीमा रहेछ । सायद हनिमुन पनि राम्रोसँग मनाउन नपाउँदै पतिसँग छुट्टिनुपर्दाको वियोगमा म्हारमेन रोएकी होली । मलाई भर्खरै बजार पिट्न थालेको हेमन्त रानाको गीत ‘चालीस कटेसी रमाउँला’को याद आयो । अनि, खाडी नपसी गाँस नजुर्ने नेपालीको पुर्पुरोदेखि दिक्क लाग्यो ।
साम्देन र म्हारमेनको त्यो वियोगान्त प्रेमालापलाई बिथोल्न चाहिनँ । कमसेकम आजको एक रात उनीहरूको आफ्नो रात बनिदेओस् भन्ने कामना गर्दै म कोठामा फर्किएँ ।
ल्यापटप खुल्लै थियो । न्यु वर्ड पेज खाली नै थियो । यता, कथाको शीर्षक नपाएर मनमा छटपटी चलिरहेको थियो ।
अचानक मान्छेहरूको कल्याङमल्याङ र टोलका कुकुरहरू भुकेको आवाज सुनियो ।
भाग्यो भाग्यो !
समात् समात् !
यस्तै आवाज सुनिन्थ्यो । मन सशंकित बन्यो । बाहिर निस्किएँ । मूल सडकमा टोलका भएभरका सबैजना ओइरिसकेका रहेछन् ।
‘के भयो गोपाल काका ?’ मेरो प्रश्न सकिन नपाउँदै जवाफ आयो, ‘सीतारामको घरमा चोर पसेछ ।’
‘चोर ? के–के चोरेछ ? चोर भाग्यो कि समाते ?’
‘खै चोर्न त के चोरे कुन्नि । तर, भाग्नचाहिँ पाएन । केटाहरूले समातिहालेछन् ।’
चोर समातेको खबरले म थप रोमाञ्चित भएँ । सायद जिन्दगीमा चोरको अनुहार अहिलेसम्म नदेखेको भएर होला ! आज चोरको अनुहार आफ्नै आँखाले प्रत्यक्ष देख्न पाउने भएपछि मनमा उत्साह बढ्नु स्वाभाविक थियो ।
म सुटुक्क बाहिर निस्किएँ । घरका अरू कोठामा बस्ने एक–दुईजनाले पनि थाहा पाइसकेका रहेछन् । उनीहरू पनि म सँगसँगै बाहिर निस्किसकेछन् । म भिड जम्मा भएको ठाउँमा पुगेँ ।
पुलिसले एउटा झुत्रो र मैलो लुगा लगाएको अन्दाजी ३० वर्षको व्यक्तिलाई घिच्याउँदै रहेछ । टोलका केटाहरू त्यही व्यक्तिलाई चोर भन्दै कुट्ने मौका छोप्दै थिए ।
‘भन के काम गर्छस् ? कहिलेदेखि चोर्न हिँडिस् ?’ बुटले हिकाउँदै पुलिसले केरकार पनि सँगसँगै गर्दै थियो ।
‘म ज्यामीको काम गर्छु सर । घरमा जहान सुत्केरी भएर दुई–तीनदेखि काममा जान सकेको छैन । आज सुत्केरी जहानलाई खुवाउन एउटा लौका मात्र टिपेको हुँ सर । म चोर होइन । म यही टोलमा बस्छु ।’ हातमा भाँचिएको लौका देखाउँदै ऊ अनुनय विनय गर्दै थियो ।
पिटाइको दुखाइले हो वा उसले भनेजस्तै आफ्नो भाग्य सम्झेर हो, चोर युवक डाँको छोडेरै रुन थालिसकेको थियो । तर, उसको बयान पुलिसलाई मात्र होइन, टोलका कसैलाई पत्यार लागिरहेको थिएन । त्यसैले ऊमाथि आक्रमण गर्न तम्सिने हात र खुट्टा त्यो भिडमा थुप्रै थिए ।
तै तै पुलिसले त्यो आक्रोशित भिडबाट बचाएर उसलाई भ्यानमा हालेर लग्यो । भ्यान निकै परसम्म पुगिसक्दा पनि युवकको आवाज कानमा ठोक्किँदै थियो, ‘म चोर होइन सर । कोठामा दुई दिनको सुत्केरी जहान मात्र छे...।’
अचानक मन खिन्न भयो । मानसपटलमा त्यही चोर र उसको बयान मात्र घुमिरह्यो, गुञ्जिरह्यो । कस्ता–कस्ता चोर र लुटेराहरू खुलेआम हिँडिरहने मुलुकमा सुत्केरी श्रीमतीका लागि एउटा लौका चोर्ने त्यो चोर र उनको भाग्यप्रति दया जागेर आयो । चोरप्रति पनि दया जाग्ने कस्तो मेरो मन ? आफैँले ठम्याउन सकिनँ ।
०००
फर्केर आफ्नो कोठामा आएँ । छोरालाई च्यापेर सुतेकी श्रीमती मस्त निन्द्रामै थिइन् । बाहिरको त्यत्रो कल्याङमलाङले उनको निन्द्रलाई बिथोल्न सकेको रहेनछ ! सायद दिनभरिको कामको बोझले थाकेकी थिइन् उनी । घरघन्दा सम्हाल्न कतिसम्म चटारो पर्छ भनेर आज दिउँसै मैले मेसो पाइसकेको थिएँ । उनको चटारो र खटाइ देखेर उनीप्रतिको माया र सम्मान अझ बढेको छ ।
मेचमा गएर बसेँ । डेस्क टेबुलमा ल्यापटप खुला नै थियो । तर, अझै कथाको शीर्षक जुराउन सके पो । गम्दै थिएँ म । साथसाथै कथाका प्लटहरू पनि बुन्दै थिएँ ।
‘माइली । ढोका खोल त ।’
अचानक कसैले फेरि मूलगेट ढक्ढक्याएको आवाज आयो ।
एक छिनपछि कुनै कोठाको ढोका खोलिएको अर्को आवाज सुनियो । सायद भुइँ तलामा डेरामा बस्ने माइली अन्टीले अंकलले बोलाएको सुनेर गेट खोल्न जानुभयो क्यार ।
‘ल बूढी आजको दिन एकदम लक्की रहेछ । ट्याक्सी साहुलाई पूरै भाडा दिएर, तेलसेल हालेर पूरै ९ सय रुपैयाँ आफूलाई बस्यो । त्यसैले यी मैले चिकेन र एक बोतल लिएर आएको छु । मज्जाले ग्रेभी बनाऊ त । रिल्याक्स गर्नुपर्छ आजको रात ।’
छुट्टै उत्साहमिश्रित आवाजमा ट्याक्सी अंकल माइली अन्टीलाई भन्दै हुनुहुन्थ्यो । रातको नीरवतामा उहाँको ठूलो आवाज घरभरि नै गुञ्जिँदै थियो । त्यसको कुनै पर्वाह थिएन उहाँलाई । किनभने, बिहानैदेखि राति अबेरसम्म ट्याक्सी कुदाउनु, कहिले पैसा बचेको बेला यसरी नै खुसी भएर सेलिब्रेट गर्नु र विभिन्न कारणले कहिले साहु भाडा समेत जोहो गर्न नसक्दा घरै थर्किने गरी बर्बराउनु अंकलको दिनहुँको रुटिन नै हो भन्नेचाहिँ मलाई पनि थाहा छ ।
०००
झ्वाँइऽऽऽ । मध्यरातको शून्यतामाथि धावा बोल्दै ट्याक्सी अंकलको कोठाबाट आवाज आयो । एक छिनमा प्याज र जिरा झानेको बास्ना मेरो नाकसम्म आएर ठोकियो ।
झन्डै ४५ लागिसके ट्याक्सी अंकल । ट्याक्सी चलाउन थालेकै तीन दशक बढी भइसकेको सुनाउनुहुन्छ बेलाबेलामा । माइली अन्टीलाई भित्र्याउनुभएको पनि २८ वर्ष पूरा भइसकेको छ ।
तर, कति रहर गर्दा पनि बच्चा भने हुन सकेन । यही एउटै पिरलोले उहाँहरूलाई भित्रभित्रै सताइरहेको दुनियाँलाई थाहा छ । यही चिन्ता मेटाउन ट्याक्सी अंकलले पिउन थाल्नुभएको भन्ने पनि सुनिन्छ ।
बाबु बन्न नसक्दाको पीडा लुकाउन स–सानो उपलब्धिलाई पनि बहाना बनाई सेलिब्रेट गर्ने उहाँको बानीका बारेमा अब त घरका मात्र हैनन्, टोलकै सबैजना अपडेट छन् । आखिर नहुने र नभएको कुरामा सधैँ दुःख मानेर पनि कहाँ हुन्छ र !
अचानक हरर्र चिकेनको बास्न आयो । सायद ट्याक्सी अंकलको एकल सेलिब्रेसन सुरु भइसकेको थियो ।
मलाई फेरि पिसाबले च्याप्यो । त्यसैले शौचालय जान बाहिर निस्किएँ । बाहिर बरन्डामा मेरो कोठाको सामुन्ने डेरामा बस्ने छनुवा चौधरी चुरोट तान्दै जोडतोडले धुवाँ फुक्दै रहेछ । उसको चाल निकै अधैर्य देखिन्थ्यो । उसको छटपटीले केही त गडबढी भएको थियो भन्ने अनुमान लगाउन गाह्रो थिएन ।
त्यसैले सोधेँ, ‘के भयो चौधरी भाइ ? यति राति किन बाहिर बसिरहनुभएको ?’
‘दाइ मलाई आक्रोशको ज्वालाले पोलिरहेछ । के गरूँ के नगरूँ भन्ने ठम्याउन नसकेर छटपटीरहेछु । तपार्इं त लेखक मान्छे, सल्लाह दिनुस् न ।’ छनुवाले मसँग भन्यो ।
‘कुरा के हो ? बुझ्दै नबुझी कसरी सल्लाह दिनु ?’ मैले भनेँ ।
‘तपार्इंलाई के ढाँट्नु दाइ । यसपटक पनि मलाई आफ्नै पार्टीले गद्दार गर्यो । पहिलेजस्तै यसपटक पनि मलाई छुट्ट्याउने काम भयो ।’ उसको आवाजमा आक्रोश मिस्सिएको थियो ।
‘के भयो र त्यस्तो ?’ मैले कुराको मेसो थाहा नपाएर अर्को प्रश्नको झटारो हानेँ ।
‘त्यत्रो १०–१० वर्ष जनयुद्ध लडेर हिँडियो । कति मोर्चा त आफैँले सम्हालेँ । पाइला–पाइलामा ज्यान दाउमा राखेर पुरानो व्यवस्था फालियो । तर, सेना समायोजनको बेला एउटा बहाना बनाएर अयोग्यको बिल्ला भिराइदियो । त्यो पल अपमानबोध कम्ती भएको थियो र ?’
छनुवाको धाराप्रवाह अभिव्यक्ति थामिएन । बोलिरह्यो, ‘तैपनि पार्टीलाई अप्ठ्यारोमा पार्नु हुँदैन भनेर चुपचाप सहेर बसेँ । बरु, उल्टै अरूलाई समेत सम्झाउँदै बसेँ...’
‘तर, यसपटक त पार्टीले हदै नाघे दाइ !’
त्यसै त थारु केटोको कालो अनुहार, आक्रोशले झनै कालो देखियो !
‘आफ्नै गाउँमा बसेर राजनीति गर्छु, टिकट देऊ भन्दा उल्टै लोप्पा खुवाए । आफूभन्दा कति हो कति जुनियरले आज आफ्नै ठाउँमा मलाई ओभरटेक गरेको कसरी सहनु दाइ ?’
उसको मनमा औडाहा भएको छ । मलाई देख्नेबित्तिकै टेपरेकर्डरले झैँ फरर्र सुनाइहाल्यो उसले ।
‘यो अपमान कुनै हालतमा म सहन सक्दिनँ दाइ । कि म सबै छोडेर मुग्लान पस्छु कि आफ्नै पार्टीविरुद्ध फेरि बन्दुक उचाल्छु । कुनचाहिँ ठिक बाटो होला भनेर गम्दै छु, दाइ ।’
उसको बोलीमा थारु रगतको टिपिकल आक्रोश प्रष्टै झल्किन्थ्यो ।
राजनीतिप्रति कुनै चासो र सरोकार नभएको मैले उसलाई के सल्लाह दिनु ! त्यसैले सुझावमा मैले सिर्फ यति भनेँ, ‘हतारमा गरेको निर्णय घातक हुनसक्ला, मनन गर ।’
मेरो सुझावलाई उसले खै कसरी लियो कुन्नी । मुन्टो मात्र हल्लायो । तर, अनुहारमा पोतिएको पीडा, असन्तुष्टि र आक्रोशका फरक–फरक रेखाहरू जस्ताको तस्तै देखिन्थ्यो ।
म छनुवासँग बिदा भएर आफ्नै कोठामा आएँ । फेरि, उही मेचमा बसेर ल्यापटपमा केही शब्द लेख्न खोजेँ । आजको रात मलाई अरू रातहरूभन्दा निकै फरक लाग्यो ।
हुन पनि एकै रातमा कति धेरै फरक–फरक घटना, प्रसंग र पात्रहरूसँग ठोक्किन पुगेको थिएँ म । यसैलाई लिपिबद्ध गर्न सके यहीँबाट एउटा गतिलो कथा जन्मिनेमा कुनै द्विविधा थिएन ।
तर, सुरुवात कहाँबाट गर्ने भन्ने मनमा लागिरह्यो । शीर्षकबाटै सुरु गर्न चाहेँ । त्यसैले किबोर्डमा औँलाहरू नचाउँदै टाइप गरेँ– नाइट मेलोडी ।