प्रतिक पौडेल
रुपन्देही । सेतो पुतलीबाट आँखामा लाग्ने रोग हो ‘सापु’ । सापुका बिरामी एक वर्षको अन्तरालमा देखिने गरेका छन् । यसवर्ष नेपालको गण्डकी र लुम्बिनी प्रदेशमा यसका बिरामी देखिएका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीका आँखा अस्पतालहरुमा सापुका बिरामी आउने गरेका छन् । ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट सापु रोग लाग्छ । समयमै उपचार नपाए सापुले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ ।
सेतो पुतलीबाट लाग्ने सापु आँखाका लागि खतरानाक रोग हो । चिकित्सकहरुका अनुसार सापुको शल्यक्रिया गरेपछि सुधार आउन ३–४ दिन लाग्न सक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल हुन्छ । सेतो पुतलीको झुस आँखामा परेमा यो रोग लाग्छ । सापुले आँखामा कचरा जम्ने, रातो हुने, सुन्निने र विस्तारै आँखा सेतो बन्दै जाने लुम्बिनी रण अम्बिका आँखा अस्पतालका रेटिना रोग विशेषज्ञ प्रा.डा.ज्ञानेन्द्र लामिछानेले बताउनुभयो ।
सापु खासगरी बच्चाहरुमा बढी देखिने गरेको छ । रातिमा बढी मात्रामा सेतो पुतली सक्रिय हुने गर्छ । यस्तो अवस्थामा घरको बत्ति निभाउने, झुल लगाएर सुत्ने, घर वरिपरीको झाडी सफा गर्नुपर्ने लुम्बिनी रण अम्बिका आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले बताउनुभयो ।
रुपन्देहीको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान एण्ड रिसर्च सेन्टरले सञ्चालन गरेको आँखा अस्पतालले प्युठान झिमरुकका २ वर्षीय आयुष मल्लको आखाको सफल उपचार गरेको छ ।
सन् १९७५ मा नेपालमा पहिलोपल्ट देखिएको सापु रोग प्रत्येक दुई–दुई वर्षमा देखिने गरेको छ । खासगरी भदौ–असोजमा सेतो पुतली बढी सक्रिय हुने भएकाले सापु रोगी बढिरहेका छन् । लुम्बिनी प्रदेशका प्यूठान, गुल्मी, अर्घाखाँचीमा यो रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।