ओखलढुंगा। पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले आरन लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हाे ।
राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएको कारण पनि युवाहरू पम्परागत पेशाभन्दा वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल पर्ने भएपछि युवाहरूले परम्परागत आरन पेशा छड्दै गएका छन् । ग्रामीण बस्तीहरूमा पुराना पाका मान्छे काेही भए आरन चल्ने नभए बन्द अवस्थामा रहेका छन् । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको भए पनि काम गरैन बाध्य हुनु परेकाे आरन चलाउँदै आउनु भएकाे सिद्दचरणा नगरपािलका वडा नं. ७ का मेख बहादुर बिश्वकर्मा बताउनु हुन्छ । तालिमका लागि सरकारबाट सहयोग भएमा आरन चलाउने बृद्दहरूलाइ सहज हुने उहाँकाे भनाइ छ ।
नयाँ पुस्ताले पेशा छाड्दै गएका कारण आरन हराउँदै गएकोले राज्यले अन्य पेशा व्यवसायीलाई जस्तै आरान पेशा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेशामा अडिरहने सिद्दचरणा नगरपािलका वडा नं. ७ कै ५५ वर्षीय कालु कामीकाे भनाइ छ । एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँले बताउनु भयाे । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुन नसकेको उहाँ बताउनु हुन्छ । आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेशा ओझेलमा पर्न थालेको बताइन्छ।
यो पेशामा रहेकालाई आगो, धुवाँ, धुलो र फलामसँग रमाउनु सामान्य बनिसकेको हुन्छ। यही आरनबाट उत्पादन भएको सामाग्री बिक्री उनीहरूको मुख्य आम्दानी स्रोत हो । आरनमा बनाइएका सामाग्री बेचेर दशैं मनाउने तयारी गर्दै आएको भला बिक बताउनु हसन्छ । कृषि औजार बिक्री गरेर मासिक २५ देखि ३५ हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ। तर‚ उत्पादित सामग्रीको बजारको समस्या हुँदै आएको छ ।
१३ वर्षको उमेरदेखि आरन पेशा अँगाल्नु भएका लिखु गाउँपालिका वडा नं. ८ का गणेश बिक ४६ वर्ष हुँदासम्म यही पेशामा सक्रिय रहेको बताउनु हुन्छ । परम्परागत रुपमा गर्दै आएको पेशाबाट परिवार धान्न समस्या नभए पनि आधुनिकीकरण गर्न नसकेको उहाँको भनाइ छ।
यो पेशामा आफ्नो भविष्य खोजी रहेका युवाहरुको लागि आधुनिक सामान र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने उनीहरुको भनाइ छ।