पुष्पराज अधिकारी
हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले 'प्रदेश खेलकुद प्रतियोगिता' आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत २ वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिनादेखि माघसम्म संचालन हुने भएको हाे ।
यही असोज १५ गते प्रदेशका सामाजिक विकास मन्त्री विजय सुबेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गरिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्को विनियोजित २ करोड र थप ४ करोड ५४ लाख प्रदेश सरकारसँग माग गरी जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ । स्थानीय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, कृकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।
उक्त प्रतियोगिताका लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टीम तयार गरी जिल्ला प्रतियोगिताका लागि सहभागि पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताका लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् ।
जिल्ला टीममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेता खेलाडीलाई खेलाइने छ भने समूह खेलमा विजेता र अन्य टीमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टीम तयार गरी प्रदेशमा सहभागि गराइनेछ ।
आगामी फागुनदेखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी प्रदेशले आफ्नो टीम तयारीका लागि पनि नवौं राष्ट्रिय खेलकुदभन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।
प्रतियोगितामा सबै खेलका महिला र पुरुष टीम सहभागि हुनेछन् भने क्रिकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।
करिब एक महिना सम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी आयोजना गरिने कुरा परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।
पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने
प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरकाे दोस्राे हप्ता सम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी कार्तिक १३ गते विश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ ।परिषद्ले यसै वर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र शहीद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्न रु एक करोडको सम्झौता गरिसकेको छ ।
परिषद् बैठकले यो वर्षमा हुने अन्य कार्यक्रम हरुमा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा सस्थाहरुलाई सम्मान गर्ने, अपाङ्गता भएका खेलाडीहरुका लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, जिल्ला खेलकुद विकास समितिहरुलाई रु ६ लाखका दरले कार्यालय संचालन खर्च र खेल सामग्रीहरु खरिद गर्नका लागि भुक्तानी दिने जस्ता केही महत्वपूर्ण निर्णय गरेको कुरा सदस्यसचिव भण्डारीले बताउनुभयो ।