भीम चौधरी
कैलाली । कोरोना महामारी शुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको पर्यटन व्यवसाय पछिल्लो समय केही सुध्रिने प्रयासमा छ । त्यसै पनि सुदूरपश्चिम प्रदेशमा पर्यटन राम्ररी फस्टाउन सकेको छैन । भौतिक पूर्वाधारको कमि छ । निकै सम्भावना बोकेका पर्यटकीय स्थलहरु हुँदाहुँदै पनि अपेक्षा गरिए अनुसार आन्तरिक र बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुन सकेको छैन ।
प्राकृतिक तथा धार्मीक पर्यटनको निकै सम्भावना रहेको भएपनि सुदूरपश्चिममा अपेक्षा गरिए अनुसार बाह्य पर्यटक भित्र्याउन सकिएको छैन । सडक, सञ्चार, सुविधासम्पन्न होटल, लज लगायतका पूर्वाधारको कमीले राम्ररी फस्टाउन नसकेको सुदूरपश्चिम प्रदेशको पर्यटन कोरोना महामारीका कारण थला परेको छ ।
कोरोना महामारीको संक्रमण दरमा निकै कमी आएसँगै सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको आवागमनमा केही सुधार आएपनि भारत र तेस्रो मुलुकका पर्यटकहरु आगमनमा वृद्धि हुन नसकेको नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा तीनै तहका सरकारहरुबीच राम्रो समन्वय छैन । सुदूरपश्चिम प्रदेशमा होटल व्यसायमा निकै लगानी रहेको छ । कैलालीमा मात्रै होटेल व्यवसायमा १० अर्ब रुपैयाँ बढीको लगानी रहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कमलबहादुर बमले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन ईकाई प्रमुख भोजराज पाठकले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, क्षमता अभिवृद्धि, प्राकृतिक तालतलैया संरक्षण, पदमार्ग र भ्यू टावर निर्माणको काम अघि बढिरहेको बताउनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेश सरकारले यसवर्षको बजेटमा केही प्रमुख पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको बताउनु भयो ।
सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याएर समृद्ध सुदूरपश्चिम बनाउन सकिने थुप्रै सम्भावना छन ।