काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।
गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताउनुभयो ।
स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिकहरु भारत जानेभन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासी घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन्, जानेको संख्या डेढसयदेखि २ सय जना छन्, पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरु रोजगारीको लागि जाने गरेका छन् ।’
भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताउनुभयो । उहाँले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताउनुभयो । उहाँले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परीक्षण पनि गरिएको बताउनुभयो ।
गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ । यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताउनुभयो ।