सोलुखुम्बु । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ । एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण शुरु भएको हो ।
यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ,उदयपुर , भोजपुर, बागमती प्रदेशका रामेछाप, सिन्धुली, दाेलख लगायतका जिल्लामा सेवा विस्तार भएको रेडियो नेपालले जनाएको छ ।
जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो नेपाल प्रस्टसँग सुन्न सकिने छ । १५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र देशका शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरुप यो रिले प्रसारण विस्तार गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको छ । तीनवटा प्रसारण केन्द्रसहित हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकका विभिन्न २५ स्थानमा एफ.एम. रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देशभरि प्रसारण सेवा विस्तार गरिसकेको छ ।
२४ सै घण्टा प्रसारण हुने रेडियो नेपालले २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ । नेपाल सरकारको आ.व. ०७६/७७ को आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुाच ८७ प्रतिशत जनतासम्म पुगेको छ