तनहूँ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विकले तनहूँ कालीका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
फूलपातीको अवसरमा तनहूँ कालिका शहीद पार्कले आज (मंगलवार) आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विकले व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै यस ठाउँलाई पनि धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धार्मिक पर्यटनबाट समृद्धि सम्भव रहेको उल्लेख गर्दै मन्त्री विकले गण्डकी प्रदेश त्यस हिसाबले धनी रहेको चर्चा गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले सबैको पहलमा यस ठाउँको विकास सम्भव रहेको बताउनुभयो ।
सो ठाउँमा मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको गत वर्ष उद्घाटन गरिएको थियो । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ ।
मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।
पृथ्वीराजमार्गअन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।