काठमाडौं । वि सं १९९० ताका गाउँमा दशैं आउँदा १ महिना अघिदेखि नै घर सफाइमा जुटिन्थ्यो । रातो माटो र सेतो माटो अर्थात कमेरो लिन विहान सबेरै गाउँबाट घण्टौं टाढा गइन्थ्यो । हप्ता दिनसम्म लगाएर घरमा लिपपोत गरिन्थ्यो ।
त्यतिबेला ढिकीमा चिउरा कुटिन्थ्यो । धान कुट्न पनि ढिकीकै प्रयोग हुन्थ्यो भने मकै, गहुँ पिस्नका लागि जाँतो र पानीघट्टहरु हुन्थे । घरघरमा ढिकी जाँतो हुनु अनिवार्य जस्तै थियो ।
ढिकीहरुमा धान कुट्न र चिउरा कुट्न महिना दिन अघिदेखि नै भिड लाग्थे । बारीमा पाकेको काँक्रोको गालेको अचारसँग पोलेको, भुटेको मकै खाँदै पालोपालोसँग आधा रातसम्म ढिकी घरमा रमाइलो गर्दै चिउरा कुटिन्थ्यो ।
नयाँ लुगा लगाउन, मासु चिउरा खान पनि दशैं नै कुर्नु पथ्र्यो । गाउँबाट कोही कोही जागिरेहरु शहर गएर आयो भने निकै चर्चा चल्थ्यो । गाउँहरुका केही खास घरहरुमा जुवातास खेल्नेहरुको जमात निकै जम्थ्यो । दशैं तिहारमा जाँतेपिङ्ग, लिङ्गेपिङ्ग, रोटेपिङ्ग टोलै पिच्छे हालिएका हुन्थे । केटाकेटीहरु विहानदेखि बेलुकासम्म पिङ्गहरुमा झुम्मिएका हुन्थे । त्यसबखत साँच्चिकै दशैंको विशिष्ट माहोल हुन्थ्यो ।
.. र पो दशैं आएझैं लाग्थ्यो
खरले छाएको, रातोमाटाले लिपेको घरमा माकुराले लगाएको जालो पन्छाउँदै घर पोत्ने चटारो हुन्थो र पो दशैं आएझैं लाग्थ्यो ।
दशैंलाई भन्दै साँचेर राखेको काँक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
लिङ्गे पीङको डोरी बाट्न पाट–बाबियो उठाउँदै हिंडिन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
दशैंलाई भन्दै टेको लगाएर राखेको केरा बोटमै पहेंलपुर हुन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
दशैंलाई भन्दै गाउँघरका बाटोघाटो सरसफाइमा जुटिन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
दशैंलाई भन्दै चिउरा कुट्न रातभरि गाउँका ढिकी भक्र्याङ्च्याङ् भक्र्याङ्च्याङ् गर्थे र पो दशैं आएझैं लाग्थ्यो ।
दशैंमा फलानो आयो ढिस्कानो फलानो आयो रे, फलानो आउँदैन रे भनेर कुरा हुन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
पोहोरको दशैंमा यति दक्षिणा भा’थ्यो अहिले कति हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
वर्ष कुरेर बल्लबल्ल नयाँ लुगा आङमा पर्दा पो दशैं आएझैं लाग्थ्यो ।
अघिपछि दुई चोक्टा मासुसँग कचौराभरि झोल खाने बानी परेको मान्छेलाई आनै घरमा सिङ्गै खसी ढाल्दा पो दशैं आएझैं लाग्थ्यो ।
मुग्लानेहरू हरर्र अत्तर वास आउँदै भरियालाई भारी बोकाएर खाङ्ग्रे डोकोमा सामान हालेर टेप रेकर्डर घन्काउँदै गाउँ छिर्थे र पो दशैं आएझैं लाग्थ्यो ।
सधैं निख्लो ढिंडो मकैको भात पाक्ने अँगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
काभ्रे मण्डनदेउपुर १० की ९३ वर्षिया डम्बरकुमारी नेपालको दशैं अनुभव