काठमाडौं । अक्टुबरको महिना पर्यटनको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । तर कोभिड १९ को विश्वव्यापी प्रभावका कारण यतिखेर नेपालमा पर्यटन क्षेत्रमा खासै चहलपहल छैन । सरकारले लगाएको निषेधाज्ञा हटाएसँगै बन्द रहेका होटलहरु खुलेका त छन् तर पर्यटकको अभावमा ती सुनशान छन् । काठमाडौं नजिकै रहेको नगरकोट नगरकोट आन्तरिक तथा वाह्य दुवै पर्यटकको प्रमुख गन्तव्य हो । सूर्योदय र हिमाल हेर्नका लागि पर्यटकहरु नगरकोट पुग्ने गर्दछन् । कुनै समय निकै चहलपहल हुने नगरकोटका अधिकांश होटल सुनशान छन् । दशैंको समयमा पनि यहाँ खासै पर्यटक आएका छैनन् । तर विस्तारै पर्यटकको आगमन बढ्दै जानेमा यहाँका होटल व्यवसायीहरु आशावादी भने छन् ।
सरकारले पर्यटन क्षेत्रलाई उकास्ने हिसावले नेपाल आउने पर्यटकका लागि अनएराइभल भिसा र खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने लगायतका उदार नीति लागू गरेपछि व्यवसायीहरु आशावादी बनेका हुन् । तर यसबारेमा सरकारले विश्वव्यापी प्रचार गर्न भने बाँकी छ । नगरकोटमा रहेको हिमालयन भिल्ला होटलका महाप्रबन्धक वसन्त पुरीका अनुसार सन् २०२२ ले पर्यटन क्षेत्रमा उत्साह लिएर आउनेछ । अहिले सबैको तयारी त्यसैमा केन्द्रीत रहेको उहाँले बताउनुभयो ।
विश्वमा अहिले धेरै देशहरुले आफ्ना नागरिकलाई विदेश यात्रा खुला गर्न थालेका छन् । धेरै पर्यटकहरु क्रमशः सुरक्षाका दृष्टिले आश्वस्त हुन थालेका छन् । त्यसैले सन् २०२२ बाट पर्यटन क्षेत्र चलायनमान हुन थाल्नेछन् ।
त्यसो त डेढ वर्षभन्दा बढी समय ठप्प बनेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा तङ्ग्रन खोजिरहेको छ।
अहिले नेपालको पर्यटन क्षेत्रलाई जेनतेन थेग्ने भनेकै आन्तरिक पर्यटनले हो । अहिले नेपालीहरुमा पनि घुमफिरको संस्कार विकास हुदै गएको छ । कोभिड अघिका केही वर्षमा नेवार्षिक १० लाखको सङ्ख्यामा नेपाली देशबाहिर घुम्न गएका विवरण सार्वजनिक भएका थिए। ती पर्यटकलाई देशभित्रै रोक्नु व्यवसायीहरुलाई चुनौति छ ।
त्यसैले आकर्षक प्याकेज बनाउन सके आन्तरिक पर्यटनबाट पनि व्यवसायीहरुले राम्रो लाभ लिनसक्ने महाप्रबन्धक पुरी बताउनुहुन्छ । अहिले नेपालीहरुको आर्थिक हैसियत मात्र होइन खर्च गर्ने प्रवृत्ति पनि बढेको छ । पर्यटन व्यवसायीहरुले त्यसलाई क्यास गर्न भने सक्नुपर्छ ।
त्यसको माहौल बनाउनका लागि सरकारले सरकारी कर्मचारीहरूलाई पर्यटन काज दिने कार्यविधि बनाउने घोषणा समेत गरेको छ । उक्त कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले बताउनुभयो ।
नेपालको कुल ग्रार्हस्थ उत्पादनमा १० प्रतिशत हाराहारीको योगदान र विदेशी मुद्रा आर्जनको दोस्रो प्रमुख स्रोतको रूपमा रहेको पर्यटनलाई अहिलेसम्म विदेशीमा मात्र धेरै भर पर्ने अवस्थाको अन्त्य गर्न सरकारले आन्तरिक पर्यटनलाई कार्यविधि नै बनाएर प्रवद्र्धन गर्न लागेको हो । यसबाट पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । सरकारको घोषणा साँच्चिकै कार्यान्वयनमा आइदियो भने यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो राहत दिनेछ, महाप्रबन्धक पुरीले बताउनुभयो ।