बलेवा । होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होम स्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ”
बिहुँस्थित शिवधुरी घरबासमा केही दिनदेखि छिटफुट पाहुना आउन थालेको उहाँ बताउनुभयो । “केही दिनअघि लमजुङदेखि पाहुना आए, हामीले शुरुमा डराइडराइ राख्यौं ” उहाँले भन्नुभयो, “अब डराएर हैन, सावधानी अपनाएर पाहुना राख्ने हो ।”
गाउँमा आएका पाहुनाले मकै, कोदो, फापरजस्ता गाउँमै उत्पादित बस्तु खान खोजेको उहाँले बताउनुभयो । त्यस्तै हरियो सागपात र लोकल कुखुरा धेरैको रोजाइमा पर्ने गरेको छ ।“ गाउँमा आइसकेपछि धेरैले ‘अर्गानिक’ खाने भन्छन्, हामीले पनि त्यही अनुसारको व्यवस्थापन गर्न खोजेका छौं” उहाँले भन्नुभयो, “डेढ बर्षदेखि सुस्ताएकोले होम स्टेमा पाहुना राख्न सामानसमेत अपुग छन्, जुटाउँदै छौं ।”
स्थानीय पवित्रा पुनले पाहुनाको स्वागत सत्कारबाट गाउँमा फरक संस्कृति, भरक भूगोल र भाषाको ज्ञान बढ्न थालेको जानकारी दिनुभयो । “हामीले पनि समयमै जानकारी पाएमा सामान्य भएपनि साँस्कृतिक क्रियाकलाप देखउँछौं’ उहाँले भन्नुभयो, “आएका पाहुनाबाट धेरै कुरा सिक्न सकिन्छ ।” सिकाइबाट बालबालिकामा पनि सकारात्मक सन्देश जाने गरेको उहाँले बताउनुभयो ।