बाजुरा । अविरल वर्षाले अवरुद्ध बनेका छेडेदह गाउँपालिकाका ग्रामीण सडक यतिबेला पुनःसञ्चालनमा आएका छन् । गत जेठ २३ गते देखि बन्द भएका ती सडक गाउँपालिकाले दशैंमा सहज हुने गरेर डोजरलगाएर मर्मत गरेपछि सञ्चालनमा आएका हुन् ।
खाद्यान ढुवानी गर्न निकै सास्ती खेप्दै आएका ती छेडेदहवासीको दशै अगावै गाउँका सडक सञ्चालनमा आएपछि मुहारमा खुसी छाएको छ । दाल, चामल, नुन, तेलजस्ता दैनिक उपभोग्य सामग्री गाउँसम्म ढुवानी गर्न सहज भएपछि स्थानीयको मुहारमा खुसी छाएको छेडेदह गाउँपालिका–४ का स्थानीय व्यापारी हरित रावतले बताउनुभयो । खाद्यान्न ढुवानी गर्न सहजताका लागि स्थानीय तहले यतिबेला समयमै एस्काभेटरको प्रयोगे गरेर सडक सञ्चालन गरि दिएपछि छेडेदहवासीलाई दशैँमा सहज भएको उहाँको भनाइ छ ।
हिन्दुहरूको महान चाडपर्व बडादशैंमा पनि केही स्थानीय तहले भने गाउँका सडक अझै सञ्चालनमा ल्याउन नसकेको छेडेदह गाउँपालिका–२, जयबागेश्वरी गाँज्रा हाटबजारका स्थानीय व्यापारी रामबहादुर बुढाले बताउनु भयो । बर्खाको समय बाटो बन्द हुँदा सामान ढुवानी गर्न निकै समस्या भएको थियो ।
दशै अगावै स्थानीयलाई सहज हुने गरेर छेडेदह गाउँपालिकाका प्रत्येक वडाका ग्रामीण सडकलाई सञ्चालनमा ल्याएको छेडेदह गाउँपालिका अध्यक्ष नर बहादुर रावतले बताउनुभयो ।
जिल्लाभन्दा बाहिर जान पर्दा बसको टिकट लिन एक दिनको बाटोहिँड्न बाध्य हुँदै आएका स्थानीय गत वर्षदेखि गाउँमै बस चढ्न थालेका उहाँको भनाइ छ । अहिले छेडेदह गाउँपालिकाका सातवटै वडा सडक सञ्जाल, स्वास्थ्य तथा खानेपानीको पहुँचमा रहेको अध्यक्ष रावतले बताउनुभयो ।
यतिबेला गाउँपालिकाले सडक सञ्चालन ल्याएपछि दशैंमा यहाँका सबै व्यापारीलाई सामान ढुवानी गर्न सहज भएको छ । लामो समयदेखि गाउँमा सवारी साधन सञ्चालन नआउँदा यहाँका स्थानीयले चर्को मूल्यमा सामान खरिद गर्दै आएका थिए ।
अब भने यहाँका स्थानीयवासी दैनिक उपभोग्य सामान केही सस्तो मूल्यमा पाउने आशमा छन् । बाजुरामा यो वर्ष अत्यधिक परेको पानीका कारण ठाउँठाउँमा सडक भत्किएपछि आउजाउ गर्न समेत निकै समस्या भएको थियो ।