–रम्भा पाैडेल
प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंँ सबैको घरआगनमा आइसकेको छ । दशैँ नेपालको सबैभन्दा लामो समय सम्म मनाइने चाड हो । पन्ध्र दिनसम्म मनाइने यो पर्वले आफ्नै खालको मौलिक सांस्कृतिक महत्व राख्दछ । देवी दुर्गाले महिषाशुर माथि विजय प्राप्त गरेको उपलक्ष्यमा दशैं पर्व अगाडि बढेको इतिहास हिन्दू मिथकमा पाइन्छ । दशैँलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । असत्यमाथि सत्यको विजयलाई मिथकीय रुपमा देवताहरुले दानवमाथि विजय प्राप्त गरेको भन्ने कथा जोडेर दशैँलाई विजया दशमी भन्ने गरिएको पाइन्छ ।
देवताहरुले दानवहरुलाई परास्त गर्नका लागि दुर्गा माताको आशिर्वाद लिएर युद्घमा गएको र विजय प्राप्त गरेको मिथक छ । त्यसैले नव दुर्गाको पूजा धुमधामसँग गरिन्छ । रावण शक्तिशाली भएर पनि घमण्डी भएको र राम विनयी भएको कारण युद्घमा विजय हासिल गरेको भन्ने अर्को मिथक छ ।
दशैं पारिवारिक सदभाव बढाउने र विगे्रका सम्बन्धलाई सुधार गर्ने पर्व पनि हो । देश–विदेशमा रहेका परिवारका सदस्य फर्केर घर आउने र ठूला–बडाबाट आशिर्वाद लिने चलन छ । देवी दुर्गाको आशिर्वादले मानिसमा उर्जा भरिने र आफ्नो कामप्रति आशा र लगनशिलता बढ्ने जनविश्वास छ । त्यही कारण दशैं धुमधामँंग मनाइन्छ ।
‘जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, सुधा नमस्तुते ।’ ‘बिशासय आयु होस्, सन्तानले डाँडा–काडा ढाकुन्, दुर्गा दाहिने रहुन् । ‘आयु सुख–समृद्धि बढ्दै जाओस् ।’ ‘आयु द्रोण सुते, श्रीयंच दशरथे, शत्रू क्षयम् राघवे, ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानमं च दुर्योधने, दानम् सूर्य सुते, बलमहलधरे,सत्यम् च कुन्ती सुते, विज्ञाने विदुरे, भवति भवताम् कृतिश्च नारायणे ।’ यिनै हुन् दशैंमा दिने परम्परागत आशिष ।
प्रत्येक वर्षको दशैंमा दिइने आशिष र नवदुर्गाको पूजाले नारी शक्ति र मातृशक्तिको आस्तित्व उच्च स्थानमा भएको पुष्टि हुन्छ । त्यति मात्र होइन, प्रत्येक घर–घरमा दुर्गाको स्थापना गरी नौओटै दुर्गाका विभिन्न रुपको पूजा विशषतः पुरुषहरुद्घारा गरिनुले नारीको शक्ति र महिमा उच्च स्थानमा छ भन्ने स्पस्ट छ र यो सबैले स्वीकार गरेको कुरा पनि हो । तर पनि समाजमा महिलालाई हेर्ने नजर परिर्वतन नहुनुले कतै हामी अझै पनि इतिहासभन्दा पछाडि त छैनौ भन्ने आभास हामीलाई दिन्छ ।नव दुर्गाका मन्दिरहरुमा दिनदिनै घुईंचो नै लागेको छ ।
शैलपुत्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, ईश्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्घिधात्री, यी नै हुन नौ दुर्गाका रुप । सबै रुपकी एउटै रुप हुन पार्वती । यसरी मिथकीय रुपमा इतिहाससंगसमेत जोडिएका सांस्कृतिक परंपराहरुलाई संरक्षण गर्नु राम्रो कुरा हो तर यसभित्र लुकेको भित्रि सत्यलाई भने राम्ररी बुझ्न जरुरी छ । मन्दिर जाने र ध्यान इत्यादिले मानिसमा एकाग्रता बढाउने र जीवन स्वस्थ्य बनाउन मद्दत गर्छ । आधुनिक समाजका मानवले आफ्नै घरलाई नै मन्दिर बनाउने कला भने जान्न जरुरी छ ।
आमा, दिदी–बहिनी र श्रीमती नै दुर्गाका विविध रुप हुन्
दश हात भएकी दुर्गा माता आफ्नै घरको मन्दिरभित्र भएको कुरा अब स्वीकार्न जरुरी छ । दुर्गाका दशवटा हात महिलाले एकैचोटी दश काम गर्नसक्छन भन्ने सांकेतिक रुप वा विम्ब हो । महिलाका रुप धेरै छन् । उनीहरु एकै चोटी दश काम गर्न सक्छन भन्ने संकेत दुर्गाका दशहातले दिन्छन् । हुन पनि महिलाहरु एकैचोटि धेरै काम गरिरहेका छन् । घरपरिवारको हेरचाह, बालबच्चाको स्याहार, सरसफाई, जागिर, समाजसेवा, इस्टमित्र, खेतिपाती सबैतिर उनीहरुको ध्यान पुगेकै छ । सबैतिर ध्यान पुर्याउन पनि भ्याएका छन । पारिवारिक माया र सदभाव जोगाउन पनि सक्ने, परेको बेला महाकाली र भद्रकाली पनि बन्न सक्ने क्षमता महिलाहरुले राख्दछन् । यही संकेत दुर्गाका रुपहरुले दिइरहेकोछ । राक्षसी प्रवृतिको अन्त्य र शान्ति सद्भाव र प्रेमको रुप हो दुर्गा ।
काम, क्रोध, लोभ, मोह, ईश्र्या जस्ता कुराहरुलाई त्यागी शान्ति र आनन्दको बाटोमा लाग्नाले नै मानवजीवन सार्थक बन्दछ । त्यसैले प्रत्येक परिवारभित्र शान्ति र सद्भाव जगाउन सक्यौं भनेमात्र दुर्गा पूजाको सार्थकता रहनेछ । घर हाम्रो आफ्नो मन्दिर हो । आमा–दिदी–बहिनी र श्रीमती नै दुर्गाका विविध रुप हुन् । यहि मन्दिरलाई शान्त र आनन्दित बनाउन सक्यौँ भने मात्र बडादशैं र दुर्गापूजाको सार्थकता रहनेछ । सबैमा विजया दशमीको हार्दिक शुभकामना !