तनहूँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ ।आयोजनाको तीन वटै प्याकेजका काम दसैँमा पनि निरन्तर सञ्चालन भइरहेको छ ।
प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । “तीन वटै प्याकेजको काम दसैंमा रोकिएका छैनन्, कामहरु निरन्तर भइरहेका छन्”, उहाँले भन्नुभयो ।
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ ।
हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित दुई सय १५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् । “दसैं अगाडि पाँच सय कामदार थिए, ग्याविन वाल भर्ने, पहुँचको काम गर्नेलाई दसैं बिदा दिइएको छ,” उहाँले भन्नुभयो, “बाँकी सबै क्याम्पमै बसेर काम गरिरहेका छन् ।”
सिनो हाइड्रोले हालसम्म पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै सुरु गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।
प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ वटा फाउण्डेशनको काम सकिएको छ भने ६ वटा फाउण्डेशनको काम चलिरहेको छ । कूल ९४ मध्ये २० वटा टावरका लागि सामग्री आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “७४ वटा टावर साइटमा आइसकेको छ, बाँकी २० वटा आउने क्रममा छ”, आयोजना प्रमुख घिमिरेले भन्नुभयो, “सात वटा टावर भने तयार भइसकेको छ ।”