काठमाडौं । भारतको चर्चित रियालिटी शो सुपर मोडल अफ द इयर २ बाट भर्खरै बाहिरिएकी नेपालकी मुना गौचनसँग तीतो अनुभव छ । उनलाई मुम्बईको एउटा मोडलिङ एजेन्सीले अस्वीकार गर्दै भनेको थियो–तिमीले मोडलिङको क्षेत्रमा कोशिस नै नगरे हुन्छ, किनकी तिम्रो अनुहार नै एसियन छ ।
तर २५ वर्षीया मुनाले ती एजेन्सीलाई गलत सावित गरिदिएकी छिन् । अर्थात अहिले भारतीय फेसन दुनियाँमा उनी परिचित र स्थापित मोडल बनिसकेकी छिन् ।
मुनाले आफ्नो राष्ट्रियता कहिले लुकाएकी छैनन् । उनी सगौरव नेपाली नै भनेर आफूलाई चिनाउन चाहन्छिन् । तर नेपालबाट भने आफूले उतिसारो समर्थन नपाएकोमा उनी दुखित छिन् । नेपाल र नेपालीको समर्थन उनलाई सुपर मोडल अफ द इयर २ मा बढी खट्कियो । नेपालीले समर्थन नगरिदिदा आफू बाहिरिनु परेको उनको गुनासो छ । शोमा रहेका प्रतियोगीहरुले आ आफ्नो गृह क्षेत्रबाट समर्थन र भोट पाए तर मैले नेपालीको त्यति धेरै चासो र समर्थन जुटाउन सकिनँ । बरु भारतीय दर्शकहरुको माया बढी पाएँ, उनले एक अन्तर्वार्तामा भनेकी छिन् ।
डाक्टर बन्न छोडेर मोडलिङमा
मलाई सानैबाट मोडलिङ र एक्टिङमा रुची थियो । फोटो खिचाउन, अभिनय गर्न र नाच्न भनेपछि म हुरुक्कै हुन्थें । तर मेरा बाबा आमा भने मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । तर म कुनै हालतमा एक्टिङ र मोडलिङ छोड्न चाहन्नँ थिएँ । त्यसैले मैले मेडिसिन पढाइ र मोडलिङ दुवैलाई सँगसँगै लैजाने निधो गरें । पछि मलाई अनुभव भयो कि म दुवै क्षेत्रलाई सँगै अगाडि बढाउन सक्दिनँ । त्यसैले मैले मेडिसिनको पढाइलाई छोड्ने निर्णय गरे । आज मैले पाएको सफलतापछि मेरा बाबा आमा पनि मेरो निर्णयमा खुशी हुनुहुन्छ । उहाँहरुको सपोर्ट पाएर नै म मुम्बई आएँ । मैले केही नेपाली फिल्महरु समेत काम गरिसकेकी छु ।
मुम्बई अनुभव :
म बाहिरबाट मुम्बई आएकी थिएँ । त्यसैले संघर्ष र चुनौतिहरुको सामना गर्नु पर्छ भनेर म मानसिक रुपमा तयारी भएर आएको थिएँ । नभन्दै त्यस्तै भयो । मैले मुम्बईमा कोही चिनेको थिइनँ । म पेइङ गेष्टका रुपमा बस्थें तर यहाँका मान्छेहरुले मलाई नराम्रो व्यवहार गर्थे । दुख लाग्थ्यो मनमा र सहनुको विकल्प थिएन । म साह्रै भावुक र कोमल हृदयको छु । त्यस्तो व्यवहार देखेर नराम्रो लाग्थ्यो । म यहाँ मुम्बई आएपछि एजेन्सीहरु खोजी खोजी अडिसनको मौका छ कि भनेर सम्पर्क गरिहन्थें । तर मलाई एउटा पनि एजेन्सीले बोलाएनन् । मलाई काम भन्दा पनि यहाँका मान्छेहरु कसरी काम गर्छन् भन्ने अनुभव लिनु थियो । किनकी म आफूमा सुधार र निखार ल्याउन चाहन्थें । विस्तारै म अडिशनहरुमा सहभागी हुँदै जान थालें तर कतैबाट कामको अवसर पाइरहेको थिएन । यता मैले नेपालबाट बोकेर ल्याएको खर्च सकिदै थियो । बाध्य भएर म बीचमा नेपाल फर्कन्थें । केही शुटिङ गरेर पैसा लिन्थें अनि फेरि मुम्बई फर्कन्थें । र, कामको खोजीमा भौतारिरहन्थें । मलाई थाहा थियो त्यो मेरो संघर्षको समय थियो । संघर्षपछि एक न एकदिन म आफ्नो सपनाको नजिक पुग्छु भन्ने आत्मविश्वास थियो । त्यसकारण पनि मैले हार मानिनँ । नभन्दै मैले विस्तारै काम पाउँदै जान थालें । त्यही बेला मैले इन्स्टाग्राम शुरु गरें । इन्स्टाग्राममा मेरो फोटो र फलोअर देखेर केही एजेन्सीहरुले आफैं प्रस्ताव गर्न थाले । एकपछि अर्को गर्दै मैले ठूला ठूला शो र प्रोजेक्टहरु पाउँदै गएँ ।
मुम्बईले सजिलै पत्याएन
शुरु शुरुमा जहाँ जहाँ अडिसनका लागि जान्थें, सबैतिरबाट रिजेक्ट हुन्थ्यो । कतिले त तिमी किन एक्टिङमा आउन खोजिरहेकी छ्यौ ? तिम्रो अनुहार नै एसियन छ, काम पाउन मुस्किल हुन्छ । बरु मोडलिङमा जाउ भन्थे । उनीहरुका कुरा सुनेर दुख त लाग्थ्यो तर मलाई आफूमा विश्वास थियो । दिनभरि अनेक कुरा सुनेर जब म साँझ घर फर्कन्थें, आफैंलाई भन्थें–हेर केटी हरेश नखा, तँ जे गर्दैछेस् राम्रो गर्दैछेस् । यसले मलाई सकरात्मक उर्जा मिल्थ्यो । त्यही भएर आज म यहाँसम्म आउन सफल भएको छु ।
...अनि बिग बोसमा गएँ
मलाई रियालिटी शोमा जान खासै मज्जा लाग्दैन । त्यसैले म सकभर नजान परे हुन्थ्यो भन्ने सोच्छु । तर जब बिग बोसबाट अफर आयो, मैले नकार्न सकिनँ । किनकी यो शो म आफैंलाई पनि औधी मन पथ्र्यो । म पनि त्यहाँ जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यही शोबाट अफर आएपछि मेरो अर्को सपना पनि पूरा भयो । म सलमान खानको प्रशंसक समेत भएकोले बिग बोसमा जानु प्रमुख कारण थियो ।
र, अबको लक्ष्य
म १६ वर्षको उमेरदेखि मोडलिङको दुनियाँमा छु । मैले त्यहाँ धेरै ब्यूटी पिजेन्टहरुमा सहभागी भएर केहीमा जितेको थिएँ । नेपालमा केही फिल्म पनि खेलें भने थुप्रै फोटो शुट गरें । यहाँ मुम्बईमा पनि विस्तारै राम्रा राम्रा कामहरु पाउन थालेको छु । बिग बोस र सुपर मोडल अफ द इयर २ मा सहभागी भएको छु । यसबीचमा २ वटा म्यूजिक भिडियोमा पनि काम गरें । त्यसमा मैले गरेको कामको राम्रो फिड्ब्याक पाएकी छु । अब म एक्टिङमा फोकस हुन चाहन्छु । मैले अहिले दायाँ बायाँ केही सोचेकी छैन । बस म आफ्नो काम, एक्टिङ र डान्सिङमा मात्र फोकस छु ।