कैलाली। कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ ।
मंगलबार दिउसो साढे १२ बजेतिर पसेको बाढीले क्षति पुर्याउन सक्ने दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोडन लगाइएको टीकापुर नगरपालिका वटा नं ५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिनुभयो । शाहीपुरका स्थानीय नारायण चौधरीले बोक्न सकिने कागजात र सामान लिएर घर छोडिरहेको र राष्ट्रिय माबि बसन्तामा बस्न लागेको जानकारी दिनुभयो ।
नदी फुटेका कारण दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती प्रभावित भैरहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएर बस्तीबाट मानिसहरु उचो स्थानतिर सार्न लागेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले वडा नं २ मूलपानी, वडा नं ५ को मसानघाट लगायतका क्षेत्रमा नदी फुटक लागेकाले दक्षिणी क्षेत्रका बासिन्दालाई घर छाड्न लगाइएको बताउनुभयो । शाहीपुरमा अघिल्लो महिना पनि नदी गाउपस्न थालेपछि बोरामा बालुवा भरेर रोकथाम गरिएको थियो । त्यतिबेला नदीको सतल करिब ९ मिटर मात्रै थियो ।
कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ । दिउसो २ः३० बजेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ४५ सेन्टिमिटर पुगेको छ भने नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । कर्णालीमा खतराको तह ११ मिटर मानिन्छ ।