सन्तकुमार चौधरी
चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय भएलगतै एमाले चितवनले महाधिवेशनको तयारी थालेको छ । महाधिवेशनका लागि स्थान छनौटदेखि अन्य आवश्यक तयारी आजैदेखि थालिएको भरतपुरमा आज बिहान पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।
एमालेको केन्द्रीय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताउनुभयो । पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने प्रष्ट पार्नुभयो । भेगीय हिसाबले आउन जान सहज भएकाले महाधिवेशनका लागि चितवन रोजिएको उहाँले बताउनुभयो ।
उद्घाटन सत्रमा कम्तिमा ५ लाख सहभागि हुने बताइएकाे छ । उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।
महाधिवेशनस्थल चितवन रोज्नुका पछाडि भएका विभिन्न टिकाटिप्पणी सही नभएको उहाँले दाबी गर्नुभयो । प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रदेश अध्यक्ष पोखरेलले आफूहरुको प्रतिस्पर्धा कुनै व्यक्ति वा कुनै एकदलसँग नभइ पाँच दलीय गठबन्धनसँग भएको बताउनुभयो ।
कुनैपनि दलसँग गठबन्धन नगरी आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले पनि जनताको बहुमत पाउने सन्देश दिनेगरी महाधिवेशनले निर्णयगर्ने समेत उहाँले बताउनुभयो ।
उहाँका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागि भएका मध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागि हुनेछन्। एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का, विश्वासघात बाबजुत पनि एमाले शशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताउनुभयो ।
देश बनाउने र समाजवादको यात्रामा जाने सामथ्र्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दाबी गर्नुभयो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यही ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको जानकारी दिनुभयो ।