खलङ्गा । दशैँ अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।
कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।
नेपालगञ्जकी सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुग्नुभएको थियो । बाटोमा मोटरसाइकल बिग्रिए । उहाँका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिक्षामा छन् । “जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौँ, पैसा पनि सकियो”, उहाँले भन्नुभयो, “एक सातादेखि विमान नपाएर धेरैजना यहीँ हुनुहुन्छ, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहा¥यौँ, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।”
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतिक्षामा छौँ । आजसम्म उद्धार नभए अझै कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै पनि उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए । राजधानी काठमाडौँ र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उहाँले बताउनुभयो ।
विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाईमार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताउनुभयो ।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका हुन् । सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमै छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ।