पर्सा । नेकपा एमाले पर्साका नेताहरुले नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने असफल प्रयास गरेका छन् ।
एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।
एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधवकुमार नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्मचारीहरुले सो कार्यालयको भवन कब्जा गर्न खोजेको थियो ।
नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुले आफ्नो भवनमा कार्यक्रम गर्न नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंजको घण्टाघर स्थित रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।
सो संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोइराला, गौतम पोखरेल समेत पर्साको वीरगञ्ज पुगेका थिए ।
संगठनको भवन कब्जा गर्न र संगठन फुटाउने प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुद्धिन अन्सारी, प्रधुमन चौहान, बीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरु समेत लागि परेको नेकपा एकीकृत समाजवादी पर्साले आरोप लगाएको छ ।
संगठनको भवन एक बर्ष अघि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण गरेका थिए ।