बागलुङ । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।
अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । कमिटीमा ३३ प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् । जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसक्नु समावेशी सिद्धान्त विपरित भएको कतिपयको ठहर छ ।
एमालेका महिला नेता, कार्यकर्ता पनि त्यसप्रति असन्तुष्ट छन् । एमाले निकट अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सावित्रा रानाले आफूहरु निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको स्वीकार गर्नुभयो ।
“झट्ट हेर्दा महिलाहरु नेतृत्वमा नआएजस्तो देखिएपनि वडा किमिटीमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता भएको छ”, उहाँले भन्नुभयो, “आफ्नो योग्यता, क्षमता बढाउँदै नेतृत्व विकास गरेर अघि आउने वातावरण महिलालाई बनेको छ ।”
गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका रानाले पहिलेदेखि नै जकडिएको संरचनाका कारण राजनीतिको अग्रभागमा पुरुष देखिने गरेको बताउनुभयो । समावेशिताको आवाज उठ्न थालेपछि पहिलेको तुलनामा राजनीतिमा महिलाको सहभागिता बढेको उहाँको भनाइ छ । “हामीले अपेक्षा गरेझैँ त भएको छैन, तर केही उपलब्धि चाहिँ पक्कै भएका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ”, उहाँले भन्नुभयो, “नेतृत्वदायी भूमिकामा आउन नसक्नुलाई महिलाको असक्षमतासँग जोडेर हेर्न मिल्दैन ।”
योगदान, क्रियाशीलता, समय व्यवस्थापन आदि कारणले नेतृत्वमा पुरुषको अग्रसरता बढी देखिनु स्वभाविक रहेको सचिव भुसालले बताउनुभयो । वडा तहमा बसेर पार्टी काममा क्रियाशील हुने महिलाहरुको संख्या न्यून भएको स्थितिमा अहिले देखिएको सहभागितालाई सकारात्मक रुपमा लिनुपर्ने उहाँको तर्क छ ।