किरण धामी,
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढीपहिरोबाट पीडितलाई चाँडै राहत उपलब्ध गराउने बताउनुभएकाे छ ।
असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा भएको क्षति र राहत अनुगमनको क्रममा डोटी पुगेका मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनुभएकाे हाे।
आइतवार मुख्यमन्त्री भट्टसहितको सरकारी टोलीले सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र डोटी जिल्लामा बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेको थियो ।
घाइतेहरुको उपचार, उद्वार, मृतकको परिवारलाई राहत र अवरुद्ध सडक सञ्चालन गर्नमा प्रदेश सरकार प्रतिवद्ध रहेको समेत मुख्यमन्त्री भट्टले बताउनुभयाे । पुनर्निर्माण तथा विकासका कार्यहरु तिनै तहका सरकारले संयुक्त रुपमा गर्नु पर्ने उहाँले बताउनुभयाे ।
विपतका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतले सराहनीय कार्य गरेको भन्दै मुख्यमन्त्री भट्टले धन्यबाद दिनुभयाे । बाढी तथा पहिरोबाट विस्तापितहरुको राहतका लागि प्रदेश सरकारले कानुन निर्माण गरेको र कानुन अनुसार राहत वितरण गरिने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताउनुभयाे ।
वर्षातका कारण जिल्लामा १६ जनाको मृत्यु, १५ जना घाइते र एक जना बेपत्ता रहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री भट्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, प्रदेशसथा सदस्य भरत खड्का लगायतकाे टोली डोटी पुगेको थियो ।