काठमाडौं । सुदूरपश्चिम प्रदेशमा १ सय ५० करोड लगानीमा पहिलो स्टिम राइस प्लान्ट स्थापना हुने भएको छ । स्थानीय खाद्य उत्पादनलाई प्रशोधित गरी उच्चस्तरको चामल उत्पादन गर्न स्टिम राइस प्लान्ट सञ्चालनमा ल्याइने तयारी रहेको सञ्चालक राजेन्द्र शाहीले बताउनुभयाे+ ।
सुदूरपश्चिममा पहिलो ठूलो लगानीको प्लान्ट स्थापना हुने भएपछि त्यहाँका कृषक पनि हर्षित भएका छन् । कम मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता र बिक्री नहुने चिन्ताबाट मुक्त हुने भएपछि त्यहाँका किसान खुशी भएका हुन् ।
किसानलाई प्राथमिकतामा राखेर स्थापना हुन लागेको स्टिम राइस प्लान्टमा करिब ८० जनाले रोजगारी पनि पाउने भएका छन् । हाल सञ्चालित कञ्चन खाद्य उद्योगले किसानको माग अनुसार नै यो प्लान्ट स्थापना गर्न थालेको हो ।
स्टिम प्लान्ट स्थापना भएपछि त्यहाँबाट ग्रेडिङ चामल, मोटा चामल, माला चामल उत्पादन हुनेछन् । मसिनो धानको केही महिना अभाव भएपनि आगामी ६ महिनापछि यसको पर्याप्तता हुने सञ्चालक शाहीले जानकारी दिनुभयाे ।
२०७७ सालमा स्थापना भएको कञ्चन खाद्य उद्योगले छोटो समयमा आफ्नो पूँजीलाई बढाइरहेको छ । अहिले १० करोड पूजी रहेको उद्योगमा स्टिम प्लान्ट स्थापनापछि १ अर्ब ५० करोड लगानी रहनेछ ।
अहिले दैनिक २१ टन (२१० क्वीन्टल) उत्पादन दिइरहेको उद्योगले प्लान्ट स्थापनापछि ८० टन (८ सय क्वीन्टल) उत्पादन दिनेछ । हिमाल, पहाड र तराई मिश्रित सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने धानलाई विभिन्न ब्रान्ड दिनका लागि प्लान्टले सहयोग गर्ने अपेक्षा लिइएको छ ।
हालसम्म प्रदेश र स्थानीय तहले चाँसो नदिएको उद्योगमा आगामी दिनमा प्रोत्साहनका लागि सहकार्य गर्नुपर्ने सञ्चालक शाहीको अपेक्षा छ ।