पोखरा । कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेको अधिवेशन आज हुँदैछ ।
पोखरामाआकांक्षी धेरै भएका कारण मंगलबार सहमति जुट्न नसकेपछि स्थगित भएको थियो । आज १० बजेदेखि अधिवेशन प्रक्रिया सुरु हुँदै छ । पोखराको नेतृत्वका लागि हालका अध्यक्ष दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप पौडेल र संजीवबहादुर कोइरालाले दावी गरेका छन् । अन्य पदमा पनि धेरैको आकांक्षा छ । सबै आन्तरिक लविङमा लागेका छन् ।
उता माछापुछ्रेमा पनि पदाधिकारीमा धेरैले आकांक्षा पेश गरेका छन् । सदस्य सर्वसम्मत भए पनि पदाधिकारीमा सहमति नजुट्दा स्थगित भएको थियो । स्थगित अधिवेशन कहिले हुने भन्ने अझै टुङ्गो लागेको छैन ।
अध्यक्षमा चार जनाले दावी गरेका छन् । विक्रम गुरुङ, पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा सूर्य गुरुङ, कृष्णकुमारी पौडेल दवाडी, षडानन्द गौतम र केशव पोखरेल, सचिवमा दुर्गाबहादुर क्षेत्री, अनुप गुरुङ, सुनिल गौतम र बालकृष्ण अधिकारी तथा उपसचिवमा ऋषि गौतम, राधिका अधिकारी र बलराम अधिकारी उम्मेदवार बनेका छन् ।
दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएको छ ।
अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
मादीमा बालकृष्ण गुरुङको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।
रुपामा पनि पूरानै अध्यक्षलाई निरन्तरता दिइएको छ । सहबक्स मियाँ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन् । उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिव टेकबहादुर गुरुङ तथा उपसचिव बलबहादुर श्रेष्ठ र सोम सुनारी चयन भएका छन् ।