-इन्द्रकुमार तामाङ
त्यतिबेला मानिस र जनावरमात्र होइन, रूखबिरुवासमेत हिँडडुल गर्थे । कुराकानी गर्थे । हिजोआज जस्तै त्यतिबेला पनि गुराँस लेकमै हुन्थ्यो । उत्तिस बेंसीमा । लेकमा हुनेलाई बेंसीमा घुम्न रमाइलो लाग्थ्यो । यसैगरी, बेंसीमा हुनेलाई लेक । गुराँस वर्षमा एकपटक घुम्न बेंसी झथ्र्यो । उत्तिस लेक उक्लन्थ्यो ।
गुराँस होचो–होचो धेरै हाँगाबिगा हुने भएकाले उसको जिउडाल फराकिलो देखिन्थ्यो । उत्तिस भने थोरै हाँगाबिगा अनि सुरिलो अग्लो–अग्लो हुन्थ्यो । उत्तिसलाई सुरिलो अग्लो जिउडालको घमण्ड थियो । उसले अरू रूखबिरुवालाई झाडी, पुड्को भनेर के–के नामले बोलाउँथ्यो । जिस्क्याउँथ्यो ।
एकताका जेठको समय पारेर उत्तिस लेकतिर डुल्न उक्लेछन् । डुल्दै जाँदा उसको गुराँससँग भेट भयो । डुल्नेक्रममा उनीहरूको पहिले पनि एकाध भेट भएको रहेछ । भेट हुनसाथ उत्तिसले फेरि पनि आफ्नो पुरानै बानीव्यहोराअनुसार अरूलाई होच्याउन र गिज्याउन थाल्यो ।
‘ए झाडी गुराँस के छ तिम्रो हालखबर ? तिम्रो जिउडालचाहिँ सधैं झाडीको झाडी नै भएर सकिने भयो है । मलाई हेर त म कति सुरिलो, अग्लो र सुन्दर छु,’ उत्तिसले गुराँसलाई चाहिँदो–नचाहिँदो भन्नसम्म भने ।
भेट भयो कि झाडीमात्र भनेर जिस्क्याउने, गिज्याउनाले गुराँसलाई रिस उठे पनि उसले देखाएन । गुराँसले मनभित्रै रिस दबाउँदै भन्यो, ‘ओ हो उत्तिस दाइ तपाईं हाम्रो गाउँघर घुम्न आउनुभएको रहेछ । स्वागत छ है तपाईंलाई । अनि सन्चो सुबिस्तै छ नि ?’
‘केले नराम्रो होस्, मजस्तो सुन्दर रूप र शरीर हुनेलाई । मलाई सबैले मन पराउँछन् । तिमीजस्तो झाडी हो र’ गुराँसले गरेको स्वागतको उत्तिसले खिल्ली उडायो । गुराँसलाई पनि अब रिस उठ्यो । लगत्तै भन्यो, ‘धेरै स्वाङ नगर्नुहोस् उत्तिस दाइ । तिमीलाई कसले मन पराउँछन् । मन पराउने भए तिमीहरूलाई मानिसले काटेर दाउरा रूपमा किन प्रयोग गर्थे ।’
मानिसले काटेर दाउराका रूपमा प्रयोग गर्ने कुराले उत्तिसको मनमा नराम्रोसँग पोल्यो । पोहोर चैतमा आफ्नोछेवैको उत्तिस पारिगाउँका मानिसले काटेको सम्झेर । उसको कुरा घाँटीमै अड्क्यो । एकछिन चुपचाप बस्यो । ऊ डराउन थाल्यो ।
‘चैत, वैशाखमा हामीलाई टाढा–टाढाबाट हेर्न आउँछन् । हामी ढकमक्क फुलेको देखेर मानिस हर्षित हुन्छन् । हाम्रा फूल लगेर देवतालाई चढाउँछन् । घर–घरमा सजाउँछन् । पहाडै राताम्य फुल्दा चरा रमाइ–रमाइ गीत गाउँछन्,’ गुराँसले भन्यो, ‘उत्तिस दाइ तपाईं त्यसबेला घुम्न आउनुहोस् न । त्यतिबेला पो हामी गुराँस के हो भन्ने देख्न सक्नुहुन्छ । बुझ्नुभो ।’
आफूलाई काट्ने कुराले उत्तिस धेरै डरायो । यसपालि उसको यात्रा रोकियो । त्यहाँबाट आफ्नैतिर बासस्थान तिर झरे । घाँस काट्न आउने र बस्तु चराउन जंगलमा आउने मानिस देख्दा समेत ऊ डराउन थाल्याे । एक वर्ष उसले डराइ–डराइ बितायाे ।
नयाँ वर्ष लाग्यो । गुराँस हेर्न उत्तिस लेकतिर उक्ल्यो । गुराँस फुलेर लेक राताम्य थियो । त्यो देखेर पोहोरपरार गुराँसलाई भनेका कुरा सम्झँदै दुःखित भयाे । आफैंलाई देखेर लज्जित भयाे । मन अमिलो बनाउँदै आफ्नैतिर फर्कंदै गर्दा ‘ओहो उत्तिस दाइ’ आवाज कानमा ठोक्कियो ।
उत्तिसले फनक्क फर्केकोमात्र के थियो, उसैकोसामुन्ने गुराँस उभियो । उ डरमाथि गिज्याइले थिचियाे । उसको अनुहार कालो, नीलो देखियो । आफैंले गरेको नराम्रा कामले दुःखी भएको अनुहारमा प्रस्टै देखिन्थ्यो ।
गुराँसलाई पनि उत्तिसको दुःखी मनमाथि नुन–चुक छर्कने मन भएन । उत्तिसले भन्यो, ‘समय र ठाउँअनुसार सबैको महत्व आ–आफ्नै ठाउँमा ठूलो हुने गर्छ । यो कुरा ढिलै भए पनि तपाईंले बुझ्नुभयो । यो नै ठूलो कुरा हो ।’
उत्तिस आफूले गुराँसलाई गरेको व्यवहारबाट दुःखित थियाे भने उत्तिस मानिसले काट्ने कुराबाट डराइरहेका थियाे । उत्तिसको डर थाहा पाएर गुराँसले भन्याे, ‘अब पुराना कुरा बिर्सनुहोस् । दुःख नमान्नुहोस् । मानिसले काट्ने कुराले पनि नडराउनुहोस् । यो संसारमा मानिसले पहिरोको ठूलो दुःख खेप्दै आइरहेको तपाईंले बुझ्नुभएकै छ । त्यसैले तपाईं पहिरोमा गएर बस्नुहोस् । तपाईंलाई कसैले पनि काट्दैनन् ।’
उत्तिसलाई गुराँसको सुझाव चित्त बुझ्यो । उसले गुराँसलाई धन्यवाद दियो । त्यसपछि गाउँछेवैको पहिरोमा गएर बस्यो । उसलाई कसैले काटेनन् । त्यसपछि उत्तिस र गुराँस मिल्ने साथी–साथी बने ।