पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण पवित्र कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको जलयात्रा (र्याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै शुरु हुने जलयात्रा विगत दुई वर्षदेखि रोकिएको हो ।
जलयात्राका लागि यो पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् ।
कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्राका लागि पर्यटक नआएको कालीगण्डकी र्याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटक शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्राका गर्नका लागि बुकिङ गरेपनि एक/दुई दिनका लागि मात्र भएको उहाँको भनाइ थियो ।
विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण घटदैै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनैपनि देशका पर्यटक नआएको सञ्चालक पुनले बताउनुभयो ।
विगत दुई वर्षअघि लामोसमयसम्म वर्षा भएकाले एकरदुई साताका लागि मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको निर्देशक रेग्मीको भनाइ थियो । पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको समयजस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने पनि उहाँले जानकारी दिनुभयो ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे्रलिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।