जुद्ध चौधरी,
कञ्चनपुर । प्राय: चाडपर्वका बेला बजारमा सामान किनमेल गर्नेको चहल पहल बढी हुन्छ । तर कञ्चनपुरको पुनर्वासका स्थानीय बजारहरू सुनसान छन् । सिमावर्ती भारतीय बजारमा भने नेपाली ग्राहकको भीड थामिनसक्नु छ ।
नेपाली ग्राहकहरु सिमावर्ती भारतीय बजारमा किनमेलका जाने गरेपछि पुनर्वासको मुख्य बजार मानिने आईबिआरडी बजार अहिले सुनसान छ । बजारमा किनमेल गर्ने ग्राहकको चहल पहल घटेपछि ब्यापारीहरू चिन्तित बनेका छन् । सिमावर्ती भारतीय बजार बसही र मिलन बजारमा भने खुट्टा राख्ने ठाउँ छैन ।
चाडपर्व लक्षित गरी ल्याएको सामानको लगानीसमेत उठ्दैन कि भन्ने पीर भएको आईबिआरडीका एक व्यापारी नवीन शर्माले बताउनुभयाे । चेतनाको कमीले गुणस्तरहीन सामान दुई रूपैयाँ सस्तोमा पाउँदा नेपाली ग्राहक भारतीय बजारतर्फ आकर्षित भएका हुन् । अन्य दिन राम्रै व्यापार चलेपनि चाडपर्बका बेला ब्यापार घटेर १५ प्रतिशत भन्दा कम व्यापार हुने गरेको उनी बताउछन ।
उद्योग बाणिज्य संघ तथा बजार ब्यवस्थापन समितिले पद ओगट्ने बाहेक ब्यापारीको हकहितमा अहिलेसम्म कुनै काम नगरेको ब्यापारी नवीन शर्मा बताउछन् । विभिन्न उघुबित्तको चर्को ब्याजदरले पनि अप्रत्यक्ष रुपमा ब्यापारमा प्रभाव पारिरहेको उहाँको भनाइ छ । अहिले पुनर्वासका आईबिआरडी बजार, प्रतिभा बजार लगायत स्थानीय बजारहरु सुनसान छन् ।
लत्ताकपडा तथा खाद्य सामग्री खरिद गर्न नेपालीहरु भारतीय बजारमा पुग्ने गरेका छन् । खुला सीमानाकाका कारण नेपालीहरूको भारतीय बजारमा भीड लागेको हो।
सामान खरिदमा २/४ रूपैयाँ सस्तो पर्ने बिश्वासले भारतीय बजारमा नेपाली ग्राहक पुग्ने गरेको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ बताउनु हुन्छ । अवैध सिमानाका बन्द गर्नका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउदा पनि अवैध नाकामा आवतजावत नरोकिएको अध्यक्ष कृष्ण तामाङ्ग बताउनुहुन्छ । स्थानीय निकायले समेत यसलाई बेवास्ता गरेको अध्यक्ष तामाङ्ग बताउनुहुन्छ ।
यसरी नेपाल भारत अवैध तथा खुला सिमानाका कारण नेपाली बजार धराशायी हुने अवस्थामा पुगेको स्थानीय ब्यापरीहरु बताउछन् । यस्ता समस्या समाधानका लागि समयमा यसतर्फ सरोकार वाला निकायको ध्यान जान जरूरी देखिन्छ ।