काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताउनुभएको हो ।
उहाँले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ।
उहाँले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताउनुभयो ।
वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘यो हप्ता दश दिन जति भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ । हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ । यो वर्ष अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो ।
वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।