प्रमाेदकुमार साह
जनकपुरधाम । छठ पर्वलाई दृष्टिगत गरी यस वर्ष जनकपुरधाममा भारतबाट ४० ट्रक केरा आयात गरिएको छ ।भारतको आसाम, बंगाल तथा बिहार राज्यको हाजिपुरबाट मरिचमान, मालभोग, चम्पा लगायतका केराहरु आयात गरिएको नेपाल फलफूल व्यवसायी संघ जनकपुरधामले जनाएको छ ।
संघका महासचिव भुनेश्वर पुर्वेका अनुसार गत वर्षको तुलना यस वर्षको केराको मूल्य घटेको छ । गत वर्ष एक हजार देखि १५ सयसम्ममा बिक्री भएको एक घरी केरा यस वर्ष बढीमा ८ सयमा बिक्री भइरहेको छ । भारतबाट आयात गरिएको केराहरु स्थानीय पुलचोक, मुजेलिया, पिररी गाउँ, रामानन्द चोक, कुर्था,महोत्तरीको पिपरा तथा जिरोमाईल स्थित फलमण्डी लगायतको स्थानमा बिक्री वितरण हुँदै आएको छ ।
छठपर्वमा धनीमनीले मात्र होइन गरिब तप्काले पनि केरा सजिलै किन्न सकुन त्यसको लागि फलफूल मण्डीमा दुई सय पचासदेखि ७ सयसम्मको घरी उपलब्ध रहेको छ ।
यसका लागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एकदेखि डेढ लाखसम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै महासचिव पुर्वेले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाउनुभयाे ।
यता नेपालको पूर्वी क्षेत्र सुनसरी, त्रिवेणी लगायतका स्थानबाट केरा आउने आइतबारदेखि शुरु भएको छ । यता उपभोक्ताहरुले पछिल्लो वर्षभन्दा केराको मूल्यमा गिरावट आएको व्यवसायीले भनेपनि मूल्य पोहरसाल भन्दा बढी नै रहेको गुनासो पोखे । क्वालिटीमा पोहरभन्दा राम्रो भएपनि मूल्यमा बढोत्तरीनै रहेको स्थानीयवासीहरुको भनाइ रहेको छ।
छठमा प्रसादको रुपमा केरा पनि प्रमुख प्रसादको रुपमा रहेकोले छठ पर्वमा केराको करोडौको व्यपार हुने गरेको छ । नेपालमा चम्पा तथा गोपाल केराको उत्पादन बढी हुने गरेको छ । छठपर्वलाई लक्षित गरी नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लाबाट ३० ट्रक भन्दा बढी केरा जनकपुरधाम आयात हुने गरेको छ । व्यवसायीका अनुसार पोहोरको तुलनामा यस वर्ष केराको मूल्य सस्तो रहेको छ ।