–रुपा घिमिरे
काठमाडौं । १० वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना २०७८ को मूल जनगणना कार्य बिहीवारदेखि १५ दिनसम्म शुरु हुँदैछ । नेपालको नक्सामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भने जनगणना नहुने भएको छ ।
नेपालको जनसंख्या, सामाजिक अवस्थिति लगायतको वास्तविक जानकारी लिने उद्देश्यका साथ राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी सकिएको छ । कात्तिक २५देखि मंसिर ९ सम्म १५ दिन चल्ने जनगणना कार्यक्रममा सातै प्रदेशका घर परिवारको गणना गरिने छ । तर नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालको भने जनगणना नहुने भएको छ । भारतीय सेनाको अवरोध पुग्ने त्रासका कारण उक्त क्षेत्रमा भौतिक रुपमा गएर जनगणना गर्र्ने चुनौति रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।
नेपालको भूभाग, नेपालको नक्साभित्र परेका सम्पूर्ण घरपरिवार, व्यक्तिको जनगणना गर्ने सरकारको दायित्व र जिम्मेवारी हो । यद्यपि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पूरै भारतीय सेनाले घेरेको र नेपालीलाई प्रवेश समेत गर्न नदिइएको अवस्थामा गणना गर्न जानु भनेको मौरीको गोलामा हात हाल्नु सरह हुने र यसलाई कूटनीतिक तवरबाट सुल्झाउनुपर्ने नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको भनाइ छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न नसक्ने अवस्था आउनु वर्तमान सरकारको कमजोरी भएको उहाँ बताउनुहुन्छ ।
कूटनीतिक पहलको निम्ति भारत सरकारसँग पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि भारतले यस विषयमा चासो नदेखाएको परराष्ट्र मन्त्रालयस्रोतको भनाइ छ । भौतिक रुपमा जान नसक्ने अवस्था देखिएपछि पहिलेजस्तै गणना नगर्ने या औसत अनुमानका आधारमा जनगणना गर्र्ने जस्ता कमजोर विकल्प तथ्यांक विभागले देखाएको छ । नक्शामा नेपाली भूमि भनेर दावी गरिएको भूमिमा हतियारसहितको भारतीय सेनाको गस्तीले यो बताउँछ कि कालापानी लिपुलेक, लिम्पियाधुरा नेपालको नक्शामा मात्र सिमित छ । यो अवस्थामा केन्द्रीय तथ्यांक विभागले गर्ने जनगणनाले वास्तविक तथ्यांक ल्याउला भन्नेमा प्रश्न उब्जिएको छ ।