एजेन्सी । गायिका ब्रिट्नी स्पेयर्स १३ वर्षपछि पिताको ‘नियन्त्रण’ बाट मुक्त भएकी छिन् ।
ब्रिट्नीले आफ्नो व्यक्तिगत तथा वित्तीय गतिविधिमा पिताको संरक्षकत्वबाट मुक्त हुन पाउनुपर्ने माग गर्दै कानुनी लडाइ लडेकी थिइन् । आफूले न्याय पाएको दिन ‘जीवनकै उत्कृष्ट दिन’ रहेको उनले बताएकी छन्।
उनले इन्स्टाग्राममा आफू खुसीले रुने अवस्थामा पुगेको उल्लेख गरेकी छन्।
अमेरिकाको लस एन्जलसको अदालतका न्यायाधीशले शुक्रबार ३९ वर्षकी ब्रिट्नीमाथि सन् २००८ देखि रहँदै आएको पिताको संरक्षकत्व तत्काल लागू हुने गरी अन्त्य भएको फैसला सुनाएका हुन्।
उनका पिता जेमी संरक्षकत्व आवश्यक रहेकाले लिएको र अब फेरि ब्रिट्नीले आफ्नो जीवनको पूर्ण नियन्त्रण आफै लिने बेला आएको बताएका छन्।
के हो स्पीयर्सको कथित संरक्षकत्व मुद्दा ?
स्पीयर्सलाई सन् २००८ मा एक संरक्षकको अधीनमा राखिएको थियो । त्यतिबेला सम्बन्ध विच्छेदका कारण उनी अस्पताल भर्ना भएकी थिइन् । मनोचिकित्सकहरुको परामर्शमा उनलाई संरक्षकको अधीनमा राखिएको थियो । त्यस यता संरक्षक बनेका उनका बुबाले उनको सबै आर्थिक नियन्त्रणमा लिनुका साथै सन् २०१९ सम्म उनी आफैं म्यानेजरको जिम्मेवारीमा समेत थिए । पछि उनले म्यानेजरबाट भने राजिनामा दिएका थिए । स्पीयर्सलाई आर्थिक रुपमा समेत नियन्त्रणमा राखेका उनको वुवाले हरेक वर्ष तलब र अन्य शुल्क वापत १.१० मिलियन डलर स्पीयर्सको खाताबाट निकाल्थे ।
सामान्यतया कोमामा वा गम्भीर मानसिक रोग भएका व्यक्तिहरूका लागि मात्र आरक्षणको व्यवस्था गरिन्छ । आफ्नो १३ वर्षको संरक्षकता अवधिमा, स्पीयर्सले चार एल्बमहरू जारी गरिन् । १४० मिलियन डलर पारिश्रमिक लिने गरि मिलियन लस भेगासको प्रस्तुतिका लागि चार वर्ष सम्झौता समेत गरिन् । त्यसका अतिरिक्त यसबीचमा उनले थुप्रै फेसन र पफ्र्यूम उत्पादकहरुका लागि समेत काम गरिन् ।
संरक्षकत्व अन्तर्गत, स्पीयर्सले कार चलाउन, मतदान गर्न, विवाह गर्न, बच्चाहरू जन्माउन, आफ्नै पैसा खर्च गर्न, संरक्षणको बारेमा सार्वजनिक रूपमा बोल्न र अन्य धेरै कुरा गर्न समेत रोक लगाइएको थियो ।
तर संरक्षकत्वको नाममा स्पीयर्समाथि लगाइएको बन्देजले उनको मानवअधिकार हनन भएको भन्दै चौतर्फी आलोचना भएको थियो । थुप्रै विज्ञहरू, प्रशंसकहरू र माइली क्रायस र रोज म्याकगोवान जस्ता सेलिब्रेटीहरूले समेत यसको विरोध गर्दै स्पीयर्सको समर्थन गरेका थिए । उनीहरुले स्पीयर्समाथि लादिएको तानाशाहको अन्त्य हुनुपर्ने आवाज उठाएका थिए । एक नागरिकको हैसियतमा घर छोड्ने, छोराछोरी पाउने, आफ्ुनो पैसा खर्च गर्ने जस्ता अधिकार स्पीयर्सले पनि पाउनुपर्ने उनीहरुको माग थियो । यो मुद्दा कतिसम्म पेचिलो थियो भने न्यायका लागि स्पीयर्स पक्षले ह्वाइट हाउसमा समेत याचना पत्र दायर गरिएको थियो ।