नविन सुवेदी
सुर्खेत। वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ। यसका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ।
प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि शुरू भएको हो।
निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ। २०८१ वैशाख ३० भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताउनुभयाे ।
१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ।
टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिने छ। रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ। रंगशाला निर्माणका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्री शाहीले जनाउनुभएकाे छ।