काठमाडौं। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित एक समारोहबीच शंकर कोइराला आख्यान पुरस्कार साहित्यकार वनमाली निराकार र इस्मालीलाई समर्पण गरिएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार भैरव रिसालले प्रतिष्ठानद्वारा अर्पण गरिने विभिन्न पुरस्कारहरू वनमाली निराकार र इस्मालीलगायतका साहित्यकारलाई प्रदान गर्नुभएकाे हाे ।
दायित्व वाङ्मय विशिष्ट सम्मान प्राध्यापक कृष्ण गौतम (२०७७) र आरसी रिजाल (२०७८), शङ्कर कोइराला आख्यान पुरस्कार (१५,०००) वनमाली निराकार (२०७७) र इस्माली (२०७८) लाई प्रदान गर्नुभयाे ।
त्यस्तै, दायित्व वाङ्मय सम्मान लुमडी आचार्य (२०७७) र गङ्गा कर्माचार्य पौडेल (२०७८), हरिकला–गुणाकर दायित्व रचना पुरस्कार (रु ११,०००), दिनेशविक्रम थापा (२०७६) र दिव्य गिरी (२०७७), दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार (१५,०००) छहारी नेपाल (२०७७) र निबन्ध आचार्य (२०७८), दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार (११,०००) रेणुका भट्टराई (२०७७) र आभा शर्मा (२०७८) लाई प्रदान गर्नुभयो।
आख्यानकार शङ्कर कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानलाई निशर्त १ लाख रूपैयाँ प्रदान गर्नुहुने जीवनेश्वरी सेनलाई प्रमुख अतिथि रिसालले जयस्कर सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो। सो अवसरमा उहाँले दायित्व वाङ्मय प्रतिष्ठानको गतिविधि र योगदानबारे बोल्दै प्रतिष्ठानले नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा समालोचक एवम् साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतमले आख्यानकार शङ्कर कोइरालाको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभयो।
यसैगरी, पुरस्कृत स्रष्टा वनमाली निराकार रसम्मानित व्यक्तित्व प्रा कृष्ण गौतमले पुरस्कृत र सम्मानित स्रष्टाहरूका तर्फबाट आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। प्रतिष्ठानका महासचिव डा लेखप्रसाद निरौलाले स्वागत तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो।
प्रतिष्ठानका सदस्य यादव भट्टराईद्वारा सञ्चालित उक्त कार्यक्रममा दायित्वको १३२औँ अङ्क लोकार्पण गरिएको थियो। कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले कोभिड १९ का कारण स्थगित गत वर्षका सम्मान र पुरस्कारसमेत सो कार्यक्रममा प्रदान गरिएको बताउनुभयाे ।