शम्भूजित दाहाल
झापा । गौरादहमा धारिलो हतियारले हत्या गरी शौचालयको सेफ्टी ट्यांकीभित्र शव लुकाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरादह ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँलाई घातक हतियार प्रयाेग गरी हत्या गरी सेफ्टी ट्यांकीभित्र फालेको र सो सेफ्टी ट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई ट्यांकीमाथि चाङ लगाई अभियुक्तहरुले ढकनीले छोपेका थिए । यस्तो कर्तुत गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गौरादह ५ बस्ने ३१ वर्षिय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन सोही ठाउँका २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।
मबेसिर हुसेन मियाँ कात्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए । उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् ।
खोजीमा रहेको प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो २.३० बजे गौरादह ५ स्थित महमद सद्दामको घर खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगतजस्तो रातो पदार्थको छिटाहरु फेला पारेको थियो । त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांकीमाथिको गोबरको गुईठाको चाङ हटाई सेफ्टी ट्यांकीभित्र खोजी गर्दा मबेसिर हुसेन मियाँको शव फेला परेको थियो । उनलाई घातक हतियार प्रयाेग गरी हत्या गरी कम्बलमा पोको पारी सेफ्टी ट्यांकीभित्र फालिएको थियो ।
दुर्गन्धित अवस्थामा फेला परेको शवलाई लाशजाँच मुचुल्का समेतको अनुसन्धान गरी पोष्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयाे । उहाँले उक्त घटनामा प्रयोग भएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र मार्तोललगायत प्रमाणयोग्य चिजवस्तुहरु बरामद गरिएको जनाएका छन् । व्यक्तिगत रिसइबीले सो हत्या गरेको जनाइएको छ ।