[caption id="attachment_27589" align="alignleft" width="118"]
-खेम बम [/caption]
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे त्रिभुवन विमानस्थलबाट नेपाल वायु सेवा निगमको जहाज मार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्नुभयो ।
दुई देशबीचको सम्बन्ध सुधार र आगामी सहयोग समझदारीको यात्रा बिस्तारका लागि भ्रमण महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री, परराष्ट्रविद्, नेपाल सरकारका मन्त्री, मन्त्रालयका सचिव, उद्योगी व्यावसायीलगायतको भ्रमणमा सहभागिता रहेको छ । भारतले २०७२ साल असोजमा लगाएको अघोषित नाकाबन्दीका कारण दुई देशबीच भएको चिसोपन र ओली प्रधानमन्त्री भएकै बेला लगाइएको नाकाबन्दीले दूरी बढाएको आकलन गरिएको थियो ।
आपसी रुपमा दुवै देशका प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीचको सम्बन्ध, ओलीले लिएको राष्ट्रवादी अडानले एक प्रकारको तरङ्ग पैदा गरेको थियो । यतिमात्रै होईन प्रधानमन्त्री ओलीले नेपाल कुनै देश सामु घुँडा नटेक्ने अडान लिँदै आउनुभएको थियो । यिनै बिषयहरुलाई समिक्षा गर्न र नजिकको छिमेकीको सम्बन्धमा सुधार ल्याउन यो भ्रमण उपलब्धिमूलक रहेको बिश्लेषण हुँदै आएको छ । भारतले नेपालका महामहिमको यसअघि हुने भ्रमण र ओलीको भ्रमणलाई बिशेष फरक चाँसोका रुपमा हेरेको छ ।
प्रधानमन्त्री ओलीलगायत अन्य भ्रमण टोलीमा सहभागि उच्च अधिकारीलाई गरेको सम्मानले प्रष्ट झल्किन्छ की, भारत नेपालप्रति लचक बनेको छ । आगामी दिनमा नेपालसँग नजिकको सहकार्य गर्न चाहान्छ । नेपालका प्रधानमन्त्रीको स्वागत–सत्कार र सम्मानमा भारतले कुनै कसर नरहने गरी तयारी गरेको थियो । सम्भवतः छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रेको भन्दै मोदी सरकारले अवलम्बन गरेको विदेश नीतिविरुद्ध विपक्षी दलले आक्रामक रवैया अपनाउन थालेपछि प्रधानमन्त्री मोदीले छिमेकी मुलुकहरू, मूलतः नेपालसँगको सम्बन्ध–सुधारलाई प्राथमिकता दिएको हुनसक्ने पनि बिश्लेषण हुन थालेको छ ।
ओलीले सत्तारोहण गरेलगत्तै उहाँको पहिलो विदेश भ्रमण कहाँबाट शुरु हुन्छ भनेर बहस भएको थियो । अन्ततः ओलीले पहिलो विदेश भ्रमण भारतलाई नै रोज्नुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग दिल खोलेर कुरा गर्दै नेपालको विकासमा भारतको सद्भाव र सहयोग लिने आशा व्यक्त गर्नुभयो । आर्थिक विकासमा केन्द्रित रहेर मोदी र ओलीबीच छलफल भएको थियो । मूलतः ओलीले मोदीसँगको भेटवार्तामा नेपालको समृद्धिको लागि भारतीय सहयोगको बारेमा कुराकानी गर्नुभयो ।
स्वागत र बसाईका हिसावले प्रधानमन्त्री ओलीलाई यसअघि अरु प्रधानमन्त्रीभन्दा विषेश बनाइएको थियो । प्रधानमन्त्री ओलीको बसाईको व्यवस्था यसपटक राष्ट्रपति भवनमा थियो । यसअघिका प्रधानमन्त्रीलाई पाँच तारे होटलमा राख्ने गरिएको थियो । पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई मात्र पहिलो पटक राष्ट्रपति भवनमा राखिएको थियो । भ्रमण टोलीका १० जना विशिष्ट पाहुना प्रधानमन्त्रीसँगै रहेको भवनमा र बाँकीलाई होटलमा राखिएको थियो ।
यतिमात्रै हाईन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणमा सहभागिहरुलाई गरेको सत्कारले दुवै देशको सम्बन्ध पक्कै सुध्रिने देखिन्छ ।