काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत लिनुहुने भएको छ ।
सभामुख प्रदीप भण्डारीले आज १२ः ३० बजे डाक्नुभएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची छ ।
प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ ।
सोही अनुसार कात्तिक ३० अर्थात मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि मुख्यमन्त्री राईले स्वकिय सचिव सन्दीप राईमार्फत गत आइतबार प्रदेश सभामा सूचना दर्ता गर्नुभएको थियो ।
पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ कार्तिक १६ गते मुख्यमन्त्री बन्नुभएको थियो ।
गठबन्धन दलले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ । गठबन्धनको सोमबार बसेको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने सरकारको तयारी छ ।