काभ्रेपलाञ्चोक । कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवर्द्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो ।
गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवर्द्धन हुनेमा स्थानीय बासिन्दा खुशी देखिन्छन् । दृश्यावलोकन स्तम्भ निर्माण भएपछि यहाँ रोजगारीमा समेत वृद्धि हुने हुँदा स्थानीयवासी निकै खुशी भएको स्थानीय बासिन्दा अनिल गौतमले बताउनुभयो ।
गाउँसम्म आवतजावत गर्न पक्की सडक निर्माणसँगै अस्पताल भवन, पोखरी, धारालगायतका काम यहाँ भइरहेको उहाँको भनाइ छ । विकासका नयाँ लहर थपिँदै गएपनि रोजगारीको अवसर गाउँमा नभएका कारण युवा भने अझै पनि रोजगारीका लागि सहरतिर जाने अवस्था रहेको उहाँको भनाइ छ । “गाउँमा जति दुःख गरेपनि खान लगाउन मात्रै पुग्नेभएपछि थप कमाउनका लागि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता छ”, स्थानीयवासी गौतमले भन्नुभयो, “गाउँमा भएको कमाइले खाउलाउमा नै जीवन कट्ने अवस्था भएका कारण विकल्पमा सहर पस्नु यहाँका बासिन्दाको बाध्यता हो ।”
अर्का स्थानीय बासिन्दा ईश्वर गौतमले गाउँको शिरमा भएको अग्लो डाँडाबाट जताततै देख्न सकिने ठाउँमा भ्यु टावर निर्माण गरेर अझ थप पर्यटन प्रवद्र्धनको काम गरेकोमा खुुसी थपेको बताउनुभयो । अहिले सो ठाउँमा पदमार्गका लागि दुई ठाउँबाट सिँढी निर्माण गर्नाका साथै टावर भएको स्थानमा पर्यटकका लागि मेच निर्माण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका प्रमुख कार्यकारी अधिकृत महानदास लामाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगाानीमा सुरु भए यो स्तम्भको निर्माण सकिएको छ । दुईतिरबाट जाने बाटोमा सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु ५० लाख लागतमा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्यमध्यको एक काजीथुम्कामा भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन भइरहेको गाउँपालिकाले जनाएको छ ।