आशिष बहादुर सिंह
बझाङ । बेमौसमी अविरल वर्षाका कारण गएकाे बाढी पहिरोले धनजनको सबैभन्दा ठूलो क्षतिकाे राहतमा राजनीति भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार पत्रकार सम्मेलन गरी असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले नदी कटान र डुवानका कारण मानवीय तथा पूर्ण घर क्षेति भएकाहरुलाई वितरण गरेको राहातको रकम सार्वजनिक गरेपछि राहतमा राजनीति भएको देखिएकाे हाे ।
सार्वजनिक गरेको राहत वितरणमा पनि राजनीति नेता र कार्यकताको गाउँदेखि जिल्लासम्म सिफारिस गरी पीडितहरुको पीडा यथावत रहेका छन् भने नेताहरुले सिफरिस गरेका सबै फाईल सदर गर्दै आएका जिल्ला प्रमुख निकायहरुलाई स्थानीय पीडितहरुले आरोप लगाएका छन् । स्थानीय भन्छन्, 'पहुँचवालालाई कुर्सी हुन्छ, हामीले राम्रो कुरा भन्दा पनि आलटाल गरी ठाडो शब्द प्रयोग हुन्छ ।'
बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा वितरण गरेको राहात रकम र राहत पाउनेको नाम सार्वजनिक गर्नुभएकाे हाे । जिल्लाको थलारा, खप्तडछान्ना, वित्थचिर र छविसपाथिभेरा गाउँपालिकामा गरी जम्मा ३२ जनाको मृत्यु भएको थियो भने जयपृथ्वी, बुंगल नगरपालिका, सुर्मा, केदारस्युँ, मष्टा गाउँपालिकाका पूर्ण घर क्षेति भएका गरी १ सय ९५ घर परिवारलाई राहातस्वरुप प्रतिपरिवार २० हजार रुपैयाँ वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक गरेको राहात पाउनेको नाम वास्तविक पीडितको नभएर वडाअध्यक्षको आसेपासे पहिलो चरणमा निबेदन दिनेको नाम राखेर राहत बुझेको बाढी पीडितहरुले बताएका छन् ।
आफूले आफ्नो भत्केको घरको फोटोसहित वडा कार्यालयको सिफारिससहित प्रहरी मुचुल्का बुझाउदा पनि राहात नपाएको र आसेपासेका नामहरु राखेर बाढी, पहिरो पीडित भनेर राहत वितरण गरेको जयपृथ्वी नगरपालिका १ की पहिरो पीडित नविना सिंहले बताउनुभयाे । सिंहले भन्नुभयाे, ‘घरमा पहिरोले क्षेति गरेपछि ५ जनाको परिवारसहित आफूहरु हालसम्म पनि छिमेकीको घरमा बस्दै आएका छाैं । हामीले केही राहात पाएका छैनौं । जस्को केही क्षेति भएको छैन, उसैले राहात बुझेको छ ।’
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको राहत पाउनेको नामावलीमा ५० प्रतिशत नामहरु कुनै क्षेति नभकाहरुको हालेको पाहिएको छ ।
घरविहीन नभएका एकजना राहत पाउँने व्यक्तिले भने, 'हामीलाई सरकार दाहिने भएर खातामा पैसा हालिदिएको रहेछ र मलाई पाईन्छ भन्ने बिश्वास पनि लागेको थिएन ।' उनी त एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता अधिकांश मानिसले यसरी नै राहत पाएका छन् । एकै घरका तीन जनाले समेत राहतको लिष्टमा नाम समावेस भएकाे पाइएकाे छ ।
राहत पाउनेको नामावलीमा बाढी, पहिरोले कुनै क्षेति नभएका र किर्ते मुचुल्का गर्नेमा बढी सरकारी कर्मचारी र नेताका आफ्न्तहरु रहेका छन् । वास्तविक पीडितहरुलाई राहात नदिएर नेताका वरिपरि घुम्ने तथा बोल्न भन्न सक्नेहरुलाई राहत दिएर वास्तविक पीडितहरुको नामावली नसमेटिएकाले वास्तविक पीडितहरुलाई राहतको व्यवस्था गर्नुपर्ने नागरिक समाजका अगुवा धर्मजंङ बहादुर सिंहले बताउनुभयाे ।
पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुलाई उपलब्ध गराएको राहत पाउनेको नामावली हेरफेर नगरेर तथा वास्तविक पीडितहरुको लिष्टमा नाम नरहेको र आफूहरु स्थलगत रिपोटिङमा गएर स्थानीय तहमा भएको क्षेतिको विवरण तथा घरधुरी आफूले रिपोटिङ गरेका घरहरुभन्दा क्षेति नभएका घरमालिकहरुको नाम राहत पाउनेको लिष्टमा राखेकाले अच्चम लागेको अकोराब सुदूरपश्चिमका अध्यक्ष जगत खड्काले जानकारी दिनुभयाे। साथै पत्रकारहरुले नामावली हेरफेर गरी क्षेति नभएकाहरुले पाएको राहत रकम जरिवानासहित फिर्ता गराउनु पर्ने र वास्तविक पीडितहरुलाई उचित राहत दिनुपर्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले झुटो मुचुल्का गराई राहत लिनेहरुको फेरि नामावली हेरफेर गरी वास्तविक पीडितहरुको पहिचान गरी राहात वितरण गरिने बताउनुभयाे ।
सरकारले पहिलो चरणको राहत स्वरुप जिल्लामा ७२ लाख ७० हजार रुपैयाँ वितरण गरेको तथा झुटो मुचुल्का गराई राहत लिनेहरुलाई फेरि नामावली हेरफेर गरी जरिवानासहित रकम फिर्ता हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको थियो ।