-विद्याश्री सिंह
सधैं निहुरी रहने परेला,
कहिल्यै ठाडो भएर उभिन नजानेको गर्दन,
मेरो आदर्श होइन।
मलाई आँखाहरुको संवाद मनपर्छ
उसका अश्लील नजरहरुले चिमोठ्न खोजे
मेरो वदनको कुनै हिस्सा,
मेरा नजरहरुले पनि लगाउन सक्छन् थप्पड१
दुख्ने गरि उसको पुरुषत्तोमाथि
त्यसैले,
म अराजक हुँ।
आमाको रातो फरिया,
बज्यैको ढाकाको चोलो,
बहुतै मनपर्छ मलाई ।
तर,
मलाई बुबाले जस्तै कालो कोट लगाउन पनि मन पर्छ।
भाइका जस्तै छोटा कपडाहरुमा पनि मलाई म सुन्दर लाग्छ१
मलाई मेरा नाङ्गा तिघ्राहरु कहिल्यै अश्लील लागेनन् ।
त्यसैले,
मलाई कहिल्यै संस्कारी भनिएन।
मेरो छातीलाई छोएको छ घामको न्यानोले
मेरो कम्मरले पनि महशुस गरेको छ हावाको स्पर्श
मैले मेरा गुप्ताङ्गहरुमा राखेको छैन मेरो अस्मिता
त्यसैले,
समाजले अश्लील पनि भन्छ मलाई ।
सहरको सुनसान गल्लीहरु बिचमा,
एक्लो छ मेरो आश्रयस्थल
जहाँ एक्लै हुर्किरहेको छ मेरो यौवन ।
त्यसैले,
समाजलाई शंका छ,मेरो कुमारित्व माथि ।
मलाई मनपर्छ
बिच बाटोहरुमा समाएर हिड्न उसको हात,
तर गन्तव्य सम्म एक्लै पुग्नसक्ने मेरो सामर्थ्यमाथि
घमण्ड पनि छ मलाई ।
हो,
म धेरै प्रेम गर्छु आफ्नाहरुलाई,
तर आफूलाई जति गर्दिनँ ।
त्यसैले,
बेलाबखत जिज्ञासा पनि भेटिन्छन्।
मेरो परवरिसलाई लिएर
समाजले ओढाएको लाजको च्यादरभित्र
झुकेर बस्न मान्दैनन् यी नजरहरु ।
पितृसत्ताले लगाएको पर्खाल तोडि,
परम्पराको परिधिभन्दा पर दौडिएर
सपनाको उडान भर्न रुचाउँछन् यी पैतालाहरु ।
आमाको मुस्कान जस्तै कोमल यो हृदय,
आमामाथि भएको दमन जत्तिकै कठोर पनि छ।
दुखाउनेहरुलाई मेटाउदा, दुख्दैन मलाई ।
हो,
मेरा निडर आँखा,
नाङ्गा तिघ्रा,
खुल्ला छाती,
बाक्लो संगत,
चर्को हाँसो,
अनि भड्किलो आवाजका कारण
समाजले परिभाषित गरेकी छाडा आइमाई हूँ म ।