काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनस्थल चितवनको पर्यटकीयस्थल सौराहाका सबै होटल कोठा अकुपाइड भएका छन् ।
महाधिवेशनको बन्द सत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि भनेर ३५ सय बेड बुकिङ गरिएको बताइएको छ ।
पाँच छाक खाना र बस्नका लागि भनेर एमालेले सौराहामा एक करोड ६० लाख खर्चिएको छ । जसमा व्यवसायीहरूले ८० लाख रुपैयाँ अग्रिम लिइसकेका छन् ।
सौराहामा ६५ सय बेड रहेको व्यवसायीहरु बताउछन् । महाधिवेशनका लागि भनेर ३५ सय बेड बुक भैसकेको बताइएको छ । एमालेले महाधिवेशन सौराहामा गर्ने भयो भनेर हल्ला भएपछि १५ सय बेड पहिल्यै बुक भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । पछिल्ला दिनहरूमा व्यक्तिगत रूपमा फोन र प्रत्यक्ष भेटेर पनि कोठा बुक गर्ने काम भइरहेकाले अब कोठा पाउन मुस्किल रहेको उहाँले बताउनुभयो ।
९–१३ मंसिरसम्म एमालेको महाधिवेशनबाहेक अन्य गतिविधिका लागि कोठा उपलब्ध नरहेको भट्टराईले बताउनुभयो । सौराहामा क्षेत्रीय होटल व्यवसायी संघ र रेस्टुरेन्ट एण्ड बार एसोसियसनमा आबद्ध १२० वटा होटल छन् । ती संस्थामा आबद्ध नभएका ६० भन्दा बढी होटल पनि सौराहामा छन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने सबैको व्यवस्थापनका लागि सौराहाका सबै होटललाई समेटिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा पनि सोचे जति पर्यटक आएका थिएनन् । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र सौराहामा गर्ने भएपछि भने व्यवसायीहरू उत्साहित भएका छन् ।
एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । एमालेको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको सेभेन स्टारमा हुँदै छ । ११ मंसिरको बिहान बेलुका र १२ मंसिरको बिहानको खाना प्रतिनिधिले होटल सेभेन स्टारमा खाने छन् । १० र १२ मंसिर बेलुकीको खाना भने प्रतिनिधि बसेकै होटलले व्यवस्थापन गर्ने छ ।
९–१३ मंसिरसम्मको अवधिमा सौराहामा १० करोडको हाराहारीमा कारोबार हुन अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
‘बन्दसत्रमा देशभरबाट आउनुहुन्छ । बस्नुहुन्छ, खानुहुन्छ । त्यहीअनुसार गतिविधि बढ्छ । हामीकहाँ जिप, हात्ती सफारी छन् । यी सबैलाई हेर्दा मोटामोटी १० करोडको कारोबार हुन्छ कि भन्ने आंकलन गरेका छौँ’, उहाँले भन्नुभयो । एमालेको कार्यक्रमपछि सौराहाको पर्यटन गतिविधि दीर्घकालिन रूपमा वृृद्धि हुँदै जाने व्यवसायीहरूको अपेक्षा छ ।