काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको प्रतिनिधि चयन निर्वाचनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् ।
यसरी पराजित हुनेमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वर्तमान र पूर्वपदाधिकारीसमेत छन् ।
कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको ठूलो हात छ । तर पौडेल आफैं भने महाधिवेशन प्रतिनिधिमै पराजित भए ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । दुवै संस्थापन समूहका हुन् ।
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यस्तै, चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनी देउवा समूहका नेताका रूपमा परिचित छन् ।
सुर्खेत कांग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् ।
पराजित हुनेमा नेविसंघका बहालवाला र पूर्वमहामन्त्रीसमेत छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै हारेका छन् ।