काठमाडौं । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदरवालाई पर्चा, पम्प्लेट र ब्यानर बनाउन रोक लगाइएको छ।
चुनावमा स्वच्छ प्रतिस्पर्धा गराउन केही क्रियाकलापमा रोक लगाइएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । यस्तै यस पटक प्यानल बनाएर उम्मेदवारी दिन पनि नपाइने उहाँले प्रष्ट पार्नुभयो ।
एमाले निर्वाचन आयोगले उम्मेदवारको प्रचार प्रसारमा तडक भडक गर्न पनि रोक लगाएको छ । उम्मेदवारको प्रचारका लागि पर्चा, पम्प्लेट र ब्यानर बनाउन नपाइने अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
चितवनको सौराहामा आज निर्वाचन कार्यालय स्थापना गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
१० मंसीरमा महाधिवेशनको उद्घाटन हुनेछ। त्यसपछि ११ मंसीरमा उम्मेदवार दर्ताको समय तोकिएको छ। यससँगै त्यहि दिन उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।
केन्द्रीय निर्वाचन आयोगले ११ मंसीर बेलुका ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। १२ मंसीरमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएका छन्। जसमा ९२ मेसिन मतदानका लागि प्रयोग हुनेछन्। तीन वटा मेसिनमा नमूना मतदान गरिनेछ भने पाँच वटा मेसिन जगेडा राखिने आयोगले जनाएको छ।
एक जना प्रतिनिधिलाई मतदान गर्न ३० मिनेट समय लाग्ने भएको छ। एउटा मेसिनमा ३० जनासम्मले मतदान गर्ने योजना बनाइएको छ। मतदान सकिएको दुई घण्टा भित्र नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।
एमाले केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २२५ सदस्यीय हुनेछ। त्यससँगै १५ सदस्यीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोग बन्नेछ।