चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि चितवनमा सुरु हुँदै छ ।
महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।
महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।
महाधिवेशन उद्घाटनस्थल देखि बन्दसत्र हुने सौराहासम्म गरि एक हजार ४५५ भन्दाबढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने बताउनुभयो । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो ।
महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उहाँले बताउनुभयो । तर एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकल, विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्नेहरु सवार गाडी,मृत्यु संस्कार, ब्रतबन्ध र विवाहसँग सम्बन्धि अत्यावश्यक सवारी साधनहरुलाई नारायणी पुल हुँदै पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाइने उहाँले बताउनुभयो ।
पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उहाँले जानकारी दिनुभयो ।
पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उहाँले बताउनुभयो ।