काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको पूर्वसन्ध्यासम्म आएपुग्दा आगामी नेतृत्वलाई लिएर एमालेभित्र मात्र होइन इत्तरका राजनीतिक वृत्तमा समेत चासो बढेको छ ।
यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने मनस्थिति बनाएको एमालेमा पदका आकांक्षीहरु धेरै भएपछि पछिल्लो समय दबाब बढेको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमै उम्मेदवारी घोषणा गरेपछि स्वयम् अध्यक्ष केपी शर्मा ओली नै प्रेसरमा परेका छन् । १० बूँदे र १५ बूँदे कार्यान्वयनका साथै राष्ट्रियता, सार्वभौमिकताको रक्षा गर्दै समृद्ध नेपालको निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उपाध्यक्ष रावलले जनतासमाचारलाई बताउनुभएको छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै पार्टीलाई नयाँ गति प्रदान गर्न पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको रावलको दाबी छ । आफ्नो उम्मेदवारी बार्गेनिङका लागि नभई जित्नकै लागि भएको उहाँको भनाइ छ ।
रावल मात्र होइन पार्टी विभाजनका वेला दशबुँदे सहमतिमार्फत एमालेमै रहेका नेताहरूले महाधिवेशनबाट आफूलाई सुरक्षित बनाउने विकल्पको खोजी थालेका छन् ।
ओलीलाई चिढ्याएरभन्दा फकाएर आफूलाई सुरक्षित गर्न सकिन्छ भन्ने मनस्थितिमा प्रभावशाली नेताहरूसमेत पुगेका छन् । त्यसैले उनीहरु महाधिवेशनको अघिल्लो दिनसम्म ओलीको ‘ग्रिन सिग्नल’ पर्खिरहेका छन् । त्यसैले उपाध्यक्ष भीम रावलवाहेक दशबुँदेबाट पार्टीमा रहेका अन्य नेताले अहिलेसम्म औपचारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । तर उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उठ्ने मनस्थिति बनाउनुभएको छ । भुसालले सम्भवतः बिहीबारसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यसबाहेक अन्य नेताले के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् । औपचारिक घोषणा नगरे पनि अधिकांश नेता पुरानै पदमा भए पनि आफूलाई सुरक्षित गर्ने आकांक्षमा छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहनुभएको स्रोतको भनाइ छ । यद्यपि दुवैजनाले अहिलेसम्म कुनै पदमा दाबी सार्वजनिक गरिसकेका छैनन् ।
यस्तै, नवौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डेले पुनः महासचिव पदमा दाबी गर्ने मनस्थिति बनाएका छन् । तर, विष्णु पौडेल, शंकर पोखरेल, रामबहादुर थापा बादलको चाहना पनि महासचिवमै देखिएको छ । महासचिवका दाबेदार सबै अध्यक्ष ओली खेमाकै भएकोले कसलाई साथ दिने भनेर ओली धर्म संकटमा परेका छन् । त्यसैले यसपटक ओली गुट पनि दुई खेमामा विभाजन हुनसक्ने सम्भावना देखिन्छ ।
यस्तै, सचिव योगेश भट्टराईले आफू सचिव पदमा दोहोरिन चाहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । दशबुँदेमार्फत एमालेमा रहे पनि सत्ता बहिर्गमनका समयमा मौन रहेका कारण भट्टराईलाई ओलीको विशेष सदाशयता छ । त्यसैले उनको सचिवमा दोहोरिने सम्भावना प्रबल छ । अर्का सचिव गोकर्ण विष्टले भने उपमहासचिव पदमा उम्मेदवारी दिने विषयमा आफूनिकटसँग छलफल चलाएका छन् । यद्यपि, उनी पनि उपमहासचिव नमिलेको खण्डमा सचिव पदमै दोहोरिन तयार हुन सक्ने देखिएको छ । ओली निकट महेश बस्नेत र गोकुल बाँस्कोटाले पनि सचिवमा दाबेदारी प्रस्तुत गरेका छन् ।
त्यस्तै, १० बूँदे खेमाका नेता स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि आफू उपाध्यक्षमा उठ्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।