काठमाडौं । एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन आजदेखि शुर हुँदैछ ।
काठमाडौंलगायत विभिन्न ४२ जिल्लामा जिल्ला अधिवेशन सुरू गर्ने कांग्रेसको तयारी छ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
केही जिल्लामा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको संयुक्त प्यानल बनेको छ । नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाएका छन् । काठमाडौंमा सिंह,थापा पक्षबाट अहिलेका सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच सभापतिमा प्रतिस्पर्धा हुँदैछ ।
चितवन, मकवानपुरलगायत जिल्लामा भने एमाले महाधिवेशनका कारण अधिवेशन सारिएको छ । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने हुँदा पछि जिल्ला अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ । विराटनगर, जनकपुरधाम, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकेको छ । प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउने कांग्रेसले जनाएको छ । कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।