स्याङ्जा । जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।
पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।
सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।
“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।
“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी गर्यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो । अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।”
स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट ५५ करोड बढी आम्दानी भएको थियो ।